श्री ३ चन्द्रशमशेर राणा
- Get link
- X
- Other Apps
श्री ३ जङ्गबहादुर राणाका कान्छा भाइ धीरशमशेरका सत्र जना छोराहरूमध्ये श्री ३ चन्द्रशमशेर पाचौँ छोरा हुन् । चन्द्रशमशेरकी आमा नन्दकुमारी हुन् । १९२० असार २६ गते बुधबारका दिनमा जन्मेका चन्द्रशमशेर ४ वर्षको उमेर अर्थात् १९२४ माघमा नै श्री ३ जङ्गबहादुरको रोलक्रमअनुसार लेफ्टिनेन्ट कर्णेल दर्जा पाई प्रधानमन्त्रीको रोलमा २४ औँ स्थानमा पर्न सफल भएका थिए । श्री ३ रणोद्दीपसिंहले १९४२ मा निर्धारण गरेको रोलअनुसार यिनी कर्णेल भई प्रधानमन्त्रीको रोलमा चौधौँ स्थानमा परेका थिए । रणोद्दीपको हत्यापछि चन्द्रकै दाजु श्री ३ वीरले निर्धारण गरेको रोलमा यिनी द.क.ज.मा बढुवा भई रोलको पाँचौ स्थानमा आएका थिए । १९४३ मा श्री ३ वीर शमशेरले उक्त रोल परिमार्जन गर्दा चन्द्रशमशेर प.क.ज. भई रोलको तेस्रो स्थानमा परेका थिए । यिनी भन्दा अगाडि रोल अनुसार आफ्नै दाजु देवशमशेर थिए । देव शमशेर प्र.म. भएपछि यिनको पालो स्वतः आउने भए तापनि दाजुलाई पदच्युत गरी यिनी श्री ३ बनेका थिए ।
चन्द्रशमशेरका तीन पत्नी (लोकभक्तराज्यलक्ष्मी, बालकुमारी र अविवाहिता) तर्फबाट नौ जना छोराहरू (मोहन, बबर, केशर, सिंह, कृष्ण, विष्णु, शङ्कर, मदन र बद्री) तथा दुई छोरीहरू (बझाङ्गी रानी र बलरामपुरकी महारानी) थिए । यिनकी पत्नी बालकुमारी जाजरकोट राजपरिवारका हरिविक्रम शाहकी छोरी थिइन् । चन्द्र सानैदेखि अङ्ग्रेजी शिक्षाका सौखिन थिए । १९४१ मा कलकत्ताबाट मेट्रिक उत्तीर्ण गरेपछि यिनी पितृवियोगमा परे । त्यसको एक वर्षपछि नै दाजु वीरशमशेरको योजनाअनुसार रणोद्दीपसिंहलाई मार्ने कार्यमा यिनी पनि संलग्न थिए तर त्यस समयमा यिनकी पत्नी लोकभक्तराज्यलक्ष्मी गर्भवती भएकाले यिनले गोली हान्ने काम नगरी खड्ग, डम्बर र भीमशमशेरले रणोद्दीपको हत्या गरेका थिए । १९४२ को उक्त पर्वपश्चात् वीरशमशेर श्री ३ बनेपछि चन्द्रशमशेर शक्तिशाली बनेका थिए । यिनी केही समय शिक्षा विभाग अन्तर्गतको डाइरेक्टर जनरल अफ पब्लिक इन्ट्रक्सन पनि भएका थिए । नेपालमा उक्त पद प्राप्त गर्ने व्यक्तिमध्ये यिनी पाँचौ व्यक्ति हुन् । यिनी भन्दा अघि बबरजङ्ग राणा, धीरशमशेर, केदार नरसिंह राणा र खड्गनरसिंह राणाले उक्त पद सह्मालेका थिए । १९४९ मा वीरशमशेर भारत जाँदा चन्द्र पनि साथमा गएका थिए । त्यसबेला चन्द्रले रक्सी खाएको थाहा पाएका ब्रिटिश रेसिडेन्टले गाली गरेपछि यिनले रक्सी खान छोडेका थिए भनी ज्ञानमणि नेपालले उल्लेख गरेका छन् ।
वीरशमशेरको देहावसानपछि रोलअनुसार नै देवशमशेर १९५७ फागुन ५ गते श्री ३ भए र चन्द्रशमशेर कमान्डर इन चीफ बने । देवशमशेर सुधारवादी भएको, शिक्षाका लागि बाटो खोलेको देखेपछि चन्द्रशमशेरलाई सहिनसक्नुभयो र अनेक षड्यन्त्र गरी दाजु देवशमशेरलाई पदच्युत गरी १९५८ असार १० का दिन चन्द्रशमशेर पाँचौ श्री ३ महाराज बनेका थिए भने देवशमशेरले स्थापना गरेका सम्पूर्ण विद्यालयहरू बन्द गराएका थिए । डायमनशमशेरका अनुसार श्री ३ चन्द्र अत्यन्तै क्रूर र निर्दयी थिए । आफ्नै सौतेनी भाइ शेरशमशेरको थापाथलीमा रहेका जग्गासमेत यिनले हत्याएका थिए । १९६० मा सिंहदरबार निर्माण गरी चन्द्र त्यहीँ सरेका थिए भने पछि उक्त भवन नेपाल सरकारलाई दुई करोड रुपैयाँमा बेचेका थिए जुन भवन अहिलेसम्म पनि नेपाल सरकारको सबैभन्दा ठूलो प्रशासनिक भवन भनी चिनिन्छ । यिनकै शासनकालमा १९६१ मा पञ्चाङ्गमा तिथि लेख्ने पुरानो परम्परालाई त्यागेर गते लेख्ने चलन चलाइयो । जुन वर्षदेखि यस चलनको थालनी भयो त्यही वर्षको फागुन १ गते चाहिँ दुईवटा फरक–फरक पञ्चाङ्गमा फरकफरक दिन (अघिल्लो दिन र भोलिपल्ट) पर्न गएछ । त्यसैले उक्त अव्यवस्थालाई व्यवस्थित गरी पञ्चाङ्ग निर्धारण गर्नका निम्ति चन्द्रशमशेरकै आज्ञानुसार पञ्चाङ्ग निर्णायक समिति (संशोधन समिति) गठन गरियो । उक्त समितिको प्रमुख राजगुरु हेमराज पण्डित थिए । पण्डित हेमराजले पञ्चाङ्ग संशोधनको सम्पूर्ण जिम्मेवारी पण्डित भुवननाथ पाँडेलाई सुम्पेका थिए । त्यही समयदेखि नै पञ्चाङ्ग निर्माण निर्णायक समिति गठन गरी समितिले पञ्चाङ्ग निर्माण तथा संशोधन गर्ने कामको थालनी पनि भयो ।
षड्यन्त्र र बन्दूकको भरमा देवशमशेरलाई सत्ताच्युत गराएर सत्तासीन भएका यिनले आफ्ना अग्रज जङ्गबहादुर राणाको पद चिन्ह पछ्याउँदै १९६४ चैत २५ गते बेलायत यात्राका निम्ति काठमाडौँबाट प्रस्थान गरी बेलायतको भ्रमण गरेका थिए । यिनको सहयोग र भक्तिबाट खुशी भएर बेलायतले राजालाई हिज हाइनेसको सट्टा हिज मेजेष्ट्री र प्रधानमन्त्रीलाई ‘हिज एक्सिलेन्सी’ को सट्टामा हिज हाइनेसको उपाधि दिएको थियो । त्यसैबेलादेखि नेपाली प्रतिनिधि वा दूतलाई ‘इन्भ्वाए’ भनेर सम्बोधन गर्न थालियो । चन्द्रशमशेरलाई अक्सफोर्ड विश्व विद्यालयले ‘डाक्टर अफ ल’ को उपाधिसाथै जी.सी.वि. विभूषण पनि दिएको थियो । चन्द्रशमशेरले चिनियाँ उपाधि लिनका निम्ति चीन सरकारप्रति अनेकौँ चाकरी र चाप्लुसी गरेका थिए । अन्ततः चीन बादशाहले एक सय पाँच जना सदस्यसहितको प्रतिनिधि मण्डल काठमाडाँैँ पठाए । उक्त प्रतिनिधि मण्डल १९६१ वैशाख २ गतेका दिन काठमाडौँ आइपुग्यो र ‘थुङ लिङ पिम्माको काङ वाङ स्यान’ नामक सम्मान प्रदान गरेको थियो । यिनको शासनकालमा पहिलो विश्वयुद्ध चर्किएको हुँदा १९७१–७५ सम्म यिनले मित्र राष्ट्रलाई सहयोग गर्ने हेतुले सम्पूर्ण सैनिक साधन ब्रिटिश साम्राज्यको रक्षामा लगाउन प्रस्ताव गरेका थिए । १६५५४÷१६५०४ ? जना नेपाली सेनाका जवान ब्रिटिश सरकारको सहायताका लागि पठाएका थिए भने आर्थिक सहयोग पनि गरेका थिए । सो युद्धमा थुप्रै नेपाली सेना हताहत भएका थिए । उक्त सहयोगबापत चन्द्रशमशेरले २० लाख नगदसहित विभूषणसमेत प्राप्त गरेका थिए । यसबाहेक दुई लाख जवानहरू ब्रिटिश गोरखा पल्टनका लागि भर्तीमा पठाएको वर्णन पनि छ । त्यस्तै तिब्बत विरुद्धको अङ्ग्रेज आक्रमणमा पनि अङ्ग्रेजहरूलाई सहयोग गरी सन् १८५६ को थापाथली सन्धि तोड्ने काम गरेका थिए ।
भारतबाट प्रकाशित हुँदै आएका नेपाली पत्रिकामाथि पनि चन्द्रशमशेरले प्रतिबन्ध लगाउनुका साथै नेपाली भाषा र साहित्यको विकासमा पूर्ण रूपमा प्रतिबन्ध नै लगाएका थिए । कृष्णलाल अधिकारीको मकै पर्वको काण्डले यसलाई प्रमाणित गर्छ । श्री ३ चन्द्रले घटाएको मकै पर्व (१९७६) नेपाली साहित्य जगत्मै कालो दिन भनेर स्मरणीय छ । अधिनायकवादी तथा अत्यन्तै कठोर शासक श्री ३ चन्द्र जनताका लागि मात्र नभएर आफ्नै भाइ भारदारहरूका निम्ति पनि कठोर बन्दथे । यिनले देवशमशेरमाथि गरेका पटक–पटकका षड्यन्त्रले उक्त कुरा प्रमाणित हुन्छ । त्यस्तै भतिजा गेहेन्द्रशमशेरको निधन हुनुमा पनि चन्द्रशमशेरमाथि शङ्का र षड्यन्त्र दुवै रहेको छ भनी धेरै इतिहासकारहरूले टिप्पणी गरेका छन् । चन्द्रशमशेरको शासनकालमा थुप्रै भाइ भारदारहरूको पद र ओहोदामा परिवर्तन भएको थियो भनी प्रमोदशमशेरले उल्लेख गरेका छन् । आफ्नो कार्यकालमा रातको समयमा कफ्र्यु लगाउनाका साथै उपत्यकाभित्र र बाहिर जान आउनसमेत राहदानीको व्यवस्था गरेका थिए ।
फिस्टे महाराज भनेर पनि परिचित चन्द्रशमशेरका पालामा केही विकास निर्माण र सुधारका कार्यहरू भएका थिए । यिनका मुख्य उपलब्धि १९७७ को सती प्रथा उन्मुलन हो । अङ्ग्रेजको दबाबको भरमा भए पनि १९७५ भदौ १२ मा त्रिचन्द्र कलेज स्थापना गरी यिनले शिक्षाको ढोका खुला गरेका थिए । १९८० मा नेपाल अङ्ग्रेजबीच सन्धि भएको थियो । जसबाट नेपालले स्वतन्त्र राज्यको मान्यता प्राप्त ग¥यो । १९८० को नेपाल–ब्रिटेन मैत्री सन्धिलाई चन्द्रशमशेरले गरेको एक उत्कृष्ट कार्य मानिएको छ । नेपालमा दास प्रथाको उन्मुलनका लागि यिनले गरेको कार्य अर्को महŒवपूर्ण कार्य हो । १९८१ मा नेपाल भरका ५९,८७३ जना दासदासीलाई मुक्त गराई दास प्रथाको अन्त्य गरेका थिए । जुन कार्यका लागि पशुपतिनाथ मन्दिरको ढुकुटीबाट ३६,७०,००० रुपैयाँ निकालेर दास दासी मालिकहरूको मूल्य चुक्ता गरिदिएका थिए । रक्सौलदेखि अमलेखगन्जसम्मको रेल्वे लाइन, घुर्सिङदेखि मातातीर्थसम्मको रोपवे लाइन, चन्द्रनहरको निर्माण (१९८५), फर्पिङ विद्युत् लाइन (१९६८), सिंहदरबार वैद्य खानाको स्थापना, अस्पताल निर्माण, नहर, सडक निर्माण, पुल, धारा निर्माण, गोरखा भाषा प्रकाशिनी समितिको स्थापना आदि श्री ३ चन्द्रशमशेरले गरेका विकासका महŒवपूर्ण कार्यहरू हुन् । यिनले स्कूल शिक्षाको निरीक्षण गर्न इन्स्पेक्टर्स् अफिस स्थापना गरेका थिए । केही युवाहरूलाई इन्जिनियरिङ्ग अध्ययनका निम्ति छात्रवृत्तिसहित विदेश पढ्न पठाएका यिनले जनताको क्षयरोग उपचारार्थ सात लाख रुपैयाँ उपलब्ध गराएका थिए । यति राम्रा काम हुँदाहुँदै पनि देशको सम्पत्ति विदेशी बैङ्कमा राख्ने र राष्ट्रको सम्पत्ति आफ्ना भाइ भतिजालाई बिर्ता दिएर यिनले आफ्नो छवि धमिलो पारेका थिए ।
यिनले जङ्गबहादुर राणाले बसालेको जहाँनिया शासनको जगको माटो उधिन्ने काम गरे । यिनले राणाहरूलाई ए, बी, र सी क्लासमा विभाजन गरेर रोलक्रमबाट हटाइएका बी र सी क्लासका राणाहरू नै राणा विरोधी भएर निस्किए जसले २००७ को क्रान्ति सफल पार्न तन, मन, र धनले सघाएका थिए । आफ्नो स्वार्थपूर्तिका लागि सत्तामा बसेर राजनीतिको फोहोरी खेल खेल्न माहिर चन्द्रशमशेरले जहानियाँ राणा शासनको जगमा उभिएर निरङ्कुश शासकको रूपमा २८ वर्ष भन्दा बढी शासन गरे । निरङ्कुश महाराज भनेर चिनिए पनि यिनले दास र सती प्रथाको उन्मूलन, शिक्षा, यातायात, विद्युत्, सिँचाइ आदि क्षेत्रमा अनुकरणीय काम गरेर नेपालको परिचय उच्च राख्दै विदेशी हस्तक्षेपबाट समेत देशलाई मुक्त नै राखे । १९८६ मङ्सिरमा चन्द्रलाई चिसोको कारणले डबल निमोनिया भयो र १९८६ मङ्सिर ३० गतेका दिन ६६ वर्षको उमेरमा सिंहदरबारमा यिनको निधन भएको थियो ।
चन्द्रशमशेर दान तथा धर्मकर्मप्रति पनि रुचि राख्थे । यिनले विभिन्न समयमा दान तथा धर्म गरी कुँदाएका अभिलेखहरू पाइएका छन् । तिनै अभिलेखहरूमा उल्लेख गरिएअनुसार यिनले १९६० भाद्र शु.पञ्चमी बिहीबारका दिनमा पत्नीसहित भई मृगस्थलीमा यिनैको नाममा बनेको चन्द्रप्रकाशेश्वर शिवालयमा एउटा घण्ट चढाई सोही घण्टमा अभिलेख कुँदाएका थिए । यिनले १८६२ मा भीमसेन थापाले बनाएको बाग्मती (थापाथली)को पुल पुनः निर्माण गराई १९६२ असार १ गतेका दिन प्रतिष्ठा गरेका थिए । यिनले ठूला–ठूला षोडषदानहरूसमेत गरी १९६६ कार्तिक शु.सप्तमी शनिबारका दिनमा पशुपतिनाथ परिसरमा रहेको सत्यनारायण मन्दिरमा सुवर्ण तुलादान गरी सोही मन्दिरको अगाडि रहेको प्रस्तरको तुलास्तम्भमा अभिलेख लेखाएका थिए । यिनले गौरीघाटस्थित पुल निर्माण गरी १९६६ मा त्यही पुलको एउटा खम्बामा अभिलेख लेखाएका थिए । यसरी नै यिनले अघि नै श्री ३ जङ्गबहादुर राणाले छापेको गुह्येश्वरी मन्दिरभित्रको ढलौटे पाताको जीर्णोद्धार गरी १९६८ आश्विन शु.अष्टमी शनिबारका दिनमा टायल हाले र सो पुरानो ढलौटे पाताबाट सिंह निर्माण गराई गुह्येश्वरीलाई चढाउनका साथै सोही सिंह मूर्तिमा अभिलेख पनि लेखाएका थिए । यिनले अघि नै महासामन्त रूप वर्माबाट निर्मित जयवागीश्वरी निरको लुँहिटी नामक धारो जीर्ण भएको र त्यहाँका रैतीले पानी पिउन नपाएको अवस्थालाई मध्यनजर गरी १९६९ कार्तिक शु.कुष्माण्ड नवमीका दिनमा सो धारो जीर्णोद्धार गराई ठूलो उत्सवसहित भोज गराएका थिए भने त्यस धारोका चारैतर्फ दश हात वरपर घर बनाउन र रूख रोप्न नपाउने व्यवस्थासमेत बाँधेर अभिलेख लेखाएका थिए । यसरी नै अघि श्री ३ जङ्गबहादुरका पालामा श्री ५ सुरेन्द्रको हुकुम र श्री ३ जङ्गबहादुरको मर्जीबाट १९११ भाद्र कृ. दशमी बिहीबारका दिन पशुपतिनाथका चारै सुरमा ढलौटका (क्रमश ः ८६÷२ धार्नी, ९२ धार्नी, ७६÷२ धार्नी र ७२÷१ धार्नीका) पानसहरू निर्माण गरिएका थिए । ती सबै पानसहरू बिग्रेर प्रयोजनविहीन भएको अवस्थामा यिनले १९७० असोज १५ गते बुधबारका दिनमा ढलौटसमेत थपी जीर्णोद्धार गरेर क्रमश ः १२८ धार्नी, ११८ धार्नी, १३३ धार्नी र ११४ धार्नीका पानसहरू पशुपतिनाथलाई चढाउनका साथै ती प्रत्येक पानसमा अभिलेख लेखाएका थिए । त्यस्तै यिनले १९८१ मङ्सिर ३ गते सोमबारका दिनमा मृगस्थलीमा अवस्थित गोरखनाथ मन्दिरमा सुनको मोलम्बासहितको दश फिट अग्लो त्रिशूल चढाई अभिलेख राखेका थिए । यसरी नै पशुपतिनाथ मन्दिरको पहिलो तलाको छाना अघि नै १८९५ मा श्री ५ राजेन्द्रविक्रम शाहले तामाको पाताबाट निर्माण गराएका थिए; सो छाना जीर्ण भएको हुँदा यी चन्द्रशमशेरले राजाज्ञा लिई १९८१ माघ शु.पञ्चमी बिहीबारका दिनमा जीर्णोद्धार गरी अभिलेख लेखाएका थिए । चन्द्रशमशेरले नेपालमै पहिलोपटक आफ्नै नाममा ‘चन्द्रज्योति’ नामकरण गरी बिजुली बालेका थिए । त्यस चन्द्रज्योतिको संरक्षण र सञ्चालनका निम्ति गूठी व्यवस्था गरी त्यसको सञ्चालनसम्बन्धी नीति तथा बन्देजसमेत बाँधेर अभिलेख लेखाएका थिए । यिनको सो अभिलेख पशुपतिमा अवस्थित सत्यनारायण मन्दिरको उत्तरपट्टि रहेको छ । यी विभिन्न अभिलेखका अतिरिक्त यिनले विभिन्न व्यवस्थाहरू बाँधी राखेका अन्य थुप्रै अभिलेखहरू पशुपतिक्षेत्रमा पाइएका छन् ।
श्री ३ चन्द्रशमशेरका बारेमा अनेकौँ लेखकहरूले आ–आफ्ना धारणाहरू अघि सारेका छन् । ती मध्ये अमेरिकी विद्वान् लियो रोजको भनाइ यहाँ उद्धृत गरिएको छ— “जङ्गबहादुर र चन्द्रशमशेर नेपालका ठूला राष्ट्रिय वीरमध्ये मानिन योग्य छन् । यिनले देशको हितको ख्याल राखी काम गरिराखेका थिए अथवा केवल राणा परिवारको हितको अथवा दुवैको जस्तो कि वास्तवमा भएको जस्तो देखिन्छ । व्यापक ऐतिहासिक दृष्टिकोणबाट केही फरक पर्दैन । तथ्य कुरा के हो भने निजहरूले आफ्नो समयको निमित्त सुहाउँदो नीति बनाएर यस्ता नीतिलाई निकै दक्षतासाथ कार्यान्वयन पनि गरे । यस प्रक्रियामा उनीहरूले भारतमा ब्रिटिश साम्राज्य समाप्त भएपछि स्वतन्त्र राष्ट्रको रूपमा नेपालको उदय हुन सम्भव गराए।
- Get link
- X
- Other Apps
Comments
Post a Comment