Govinda Malla Gothale गोविन्दबहादुर मल्ल ‘गोठाले’ (जयबहादुर मल्ल)
- Get link
- X
- Other Apps
विधा तथा क्षेत्र : व्यवसाय र साहित्य
जन्ममिति : १९७९ असार २६;
ज.स्थान : ओमबहाल, काठमाडौँ;
बुबा : ऋद्धिबहादुर;
आमा : आनन्दमाया;
शिक्षा : आइएससीसम्मको अध्ययन (त्रिचन्द्र कलेज);
विवाह : २ विवाह जेठी— सरस्वती, कान्छी ?;
सन्तान : ४ छोरी, २ छोरा ।
व्यक्तित्व : गोठाले आख्यान साहित्यका चर्चित र स्थापित स्रष्टा हुन् । कविता लेखनबाट साहित्यमा प्रवेश गरेका यिनी कालान्तरमा आख्यान विधामै रत्तिए । कथा, उपन्यास र नाटक लेखनमार्फत यिनले नेपाली साहित्यमा प्रभावकारी उपस्थिति जनाएका छन् । तापनि यिनी नेपाली कथा साहित्यका क्षेत्रमा आधुनिकता भिœयाउने कथाकारका रूपमा बढी परिचित छन् ।
घरकै साहित्यिक माहौलबाट साहित्य लेखनतर्फ अग्रसर भएका यिनी ‘शारदा’ प्रकाशनको शुरुवाती दिनमै नेपाली साहित्यका एकभन्दा एक अब्बल साहित्यकारहरूको सान्निध्यमा रहेका थिए । बुबा ऋद्धिबहादुरको कामलाई नजीकबाट नियालेका यिनी र यिनका भाइ विजय मल्लले आफ्नो विशिष्ट लेखनीबाट आफूलाई नेपाली साहित्यको उम्दा साहित्यकारको रूपमा उभ्यान सफल भएका हुन् ।
सङ्ख्यात्मक दृष्टिले कम लेखे तापनि गुणात्मक दृष्टिले हेर्दा यिनका रचनाहरू उम्दा छन् । मैले सरिताको हत्या गरे, कृष्णे र खुकुरी, निद्रा आएन जस्ता मनोविज्ञानमा आधारित यिनका चर्चित कथा हुन् । यिनको उपन्यास ‘पल्लो घरको झ्याल’ यिनको नेपाली उपन्यास साहित्यकै मास्टर पिस रचना हो । झिनो कथावस्तु र आकारको दृष्टिले पनि पातलो यस उपन्यास मार्फत यिनले आफ्नो लेखनी र लेखन कौशलको राम्रो परिचय दिएका छन् । नेपाली उपन्यास विधामा फ्रायडवादी यौनमनोविज्ञानको प्रवेश गराउने श्रेय गोठालेलाई नै जान्छ । यिनको ‘पल्लोघरको झ्याल’ उपन्यास नै नेपाली उपन्यास साहित्यको पहिलो यौन मनोवैज्ञानिक उपन्यास हो । विद्यालयदेखि विश्वविद्यालयका पाठ्यक्रमहरूमा समेत समावेश भएका यिनका रचनाहरू जतिपटक पढेपनि नवीन र सुस्वादु लाग्छन् । यिनका रचनामा बाह्य द्वन्द्वभन्दा पनि आन्तरिक द्वन्द्वको प्रधानता रहेको हुन्छ । चेतन अचेतन मनका सचेत र सुषुप्त चाहनाहरूलाई मनोविश्लेषणको कसीमा घोटेर प्रभावोत्पादक अभिव्यक्ति दिनु गाठालेको आख्यानकारिताको विशेषता नै हो ।
कथा, उपन्यास र नाटक लेखनमा भाषा, शैली र विषयवस्तुका दृष्टिले पनि अब्बल रचना पस्किन सक्नु गोठालेजस्ता प्रकृतिप्रदत्त लेखकीय गुण र क्षमता भएका व्यक्तिका लागि मात्र सम्भव हुने कुरा हो । लेखनका अलावा लामो समय ‘शारदा’ को सम्पादन गरेर पनि यिनले नेपाली साहित्यको सेवा गरेका थिए । सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमाल र महाकवि लक्ष्मीप्रसाद देवकोटाबाट लेख्ने प्रेरणा, आधुनिक बन्ने र लगनशील बन्ने सल्लाहप्राप्त गरेका यिनका रचनाहरू हेर्दा यिनले ती प्रेरणा र सल्लाहलाई हृदयदेखि आत्मसात् गरेको पाइन्छ । सीमित परिवेश, जम्माजम्मी एउटा उपन्यास, केही कथा र केही थान नाटककै भरमा नेपाली साहित्यकारहरूको भीडमा आफ्नो छुट्टै र गरिमामय स्थान बनाउन सक्नु गोठालेको अद्वितीय प्रतिभाको नमूना हो । भवानी भिक्षुले शारदा पत्रिकामा मल्लको ‘गोठाले’ उपनाम दिई ‘उसको भाले’ कथा छपाएका थिए । यसरी मल्ल गोठाले उपनाले चिनिदै आएका छन् । मैनाली साहित्यकारका साथै सरकारी जागिर र गैर सरकारी साथै निजी व्यवसायका क्षेत्रमा पनि सफलता हात पारेका व्यक्ति हुन् । जनमतसङ्ग्रहताका निर्वाचन आयुक्तको जिम्मेवारीसमेत सफलतापूर्वक सम्पन्न गरेका यिनले शारदाको सम्पादक, जोरगणेश प्रेसका निर्देशक लगायतका विभिन्न पदीय मर्यादालाई सफलतापूर्वक सम्पन्न गरेका थिए । विभिन्न समयमा नेराप्रप्रका सदस्य, प्रेस काउन्सिलका सदस्य, नेपाल लेखक सङ्घका अध्यक्ष आदि भूमिकामा पनि रहेका यिनले आफू सम्पादक रहेका समयमा ‘शारदा’ पत्रिकालाई नेपाल बाहिरसम्म पनि पु¥याएका थिए । यिनले आफ्नो व्यक्तिगत लेखनबाट नेपाली साहित्यका लागि जति गरे त्यो भन्दा बढी योगदान प्रेस र पत्रकारिताको क्षेत्रबाट गरेका थिए ।
पेशा तथा सेवा : निजी व्यवासाय, जोर गणेश प्रेसका निर्देशक, २००७ को जनक्रान्तिमा संलग्न, निर्वाचन समितिको सदस्य (२०३६)÷आयुक्त, नेराप्रप्रका प्राज्ञ, नेपाली लेखक सङ्घका संस्थापक अध्यक्ष;
पहिलो रचना : ममता (कविता, शारदा, १९९२);
कृति तथा सृजना : कथासङ्ग्रह (२००३), कथैकथा (२०१६), प्रेम र मृत्यु (२०३९), बाह्र कथा (२०५२), जङ्गबहादुर र हिरण्यर्भकुमारी (२०६१), नाटक एकाङ्की सं. : भुसको आगो (२०१३), च्यातिएको पर्दा (२०१६), दोष कसैको छैन (२०२७), भोकोघर, उपन्यास : पल्लोघरको झ्याल (२०१६), अपर्णा (२०५३), पियानानी (२०५६),
सम्पादन÷अनुवाद : शारदा (मासिक), आवाज (दैनिक);
सम्मान÷पुरस्कार : पृथ्वी प्रज्ञा पुरस्कार (२०६०), जगदम्बाश्री (२०५५), त्रिभुवन प्रज्ञा पसरस्कार (२०४२), वेदनिधि पुरस्कार (२०४८), पहलमान सिंह स्वाँर पुरस्कार (२०५२), भवानी साहित्यिक पत्रकारिता पुरस्कार (२०४५), वसुन्धरा मान पुरस्कार, सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कार (२०५३), मधुपर्क सम्मान, सरस्वती सम्मान, नेपाल प्रज्ञा प्रतिष्ठानको मानार्थ आजीवन सदस्य (२०३३), गोरखादक्षिणबाहु (२०३६), दौलतविक्रम विष्ट आख्यान सम्मान (२०६६), दोभान प्रतिभा– २०६६, महाकवि देवकोटा शताब्दी सम्मान– २०६६, आधुनिक नेपाली नाटकमा योगदान दिएबापत नेराप्रप्र बाट सम्मान (२०५७), कवि भवानी घिमिरे रमाकृष्णा साहित्य सम्मान २०६७ आदि र विभिन्न सङ्घ संस्थाबाट अभिनन्दन;
संलग्नता : मानार्थ आजीवन सदस्य— नेराप्रप्र, अध्यक्ष— नेपाल लेखक सङ्घ, सदस्य— साहित्य संस्थान, सदस्य— प्रेस काउन्सिल, सल्लाहकार— रूपरेखा साहित्यिक पत्रिका, मदन पु.गुठी;
निधन : मिर्गौलासम्बन्धी रोगका कारण, २०६७ मङ्सिर २७ हिमालय नर्सिङ्ग होम, अन्तिम संस्कार पशुपति आर्यघाट ।
स्रोत : शताब्दीका चर्चित नेपालीहरू (२०६१) पृ.१४०÷ कान्तिपुर २०६२।३।२८÷साकपको (२०७०), १४३÷गोप २०६७ पुस ३ गते र २०६७।८।२८÷जनमत वर्ष १७ अङ्क ४–५, २०५७ जेठ पृ.३९÷पच्चीस प्रतिभा भाग ५ , २०६८÷गरिमा २५७, पृ.१०२÷इन्टरनेट÷जगदम्बाश्री तथा मदन पु.द्वारा सम्मानित व्यक्तित्वहरू ः चेतबहादुर कुँवर पृ.२५३÷व्यक्तित्व र शब्दचित्र (२०५३) पृ.१७, ले. जयदेव भट्टराई
- Get link
- X
- Other Apps
Comments
Post a Comment