Guru Prasad Mainali गुरूप्रसाद मैनाली
- Get link
- X
- Other Apps
विधा÷क्षेत्र : साहित्य र वकालत
जन्ममिति : १९५७ भदौ ४ गते भाद्र शु.चतुर्दशी
ज.स्थान : धनकुटा;
बुबा : काशीनाथ मैनाली;
आमा : काशीरूपादेवी;
बाल्यकाल : पुख्यौली घर काभ्रे कानपुर भए पनि बुबा सरकारी सेवाअन्र्तगत धनकुटा पुगेका बेला उनको जन्म धनकुटामै भएको र उनको बाल्यकालको प्रारम्भिक चरण त्यहीँ बितेको थियो ।
शिक्षा : स्वाध्यायन (लघुकौमुदी, अमरकोश, रुद्री, दुर्गासप्तशती) स्रेस्ता पाठाशाला, निजामती मध्यमा (११ पास) मा प्रथम, हिन्दी र बङ्गाली भाषाको पनि अध्ययन;
विवाह : २ विवाह (जगतकुमारी, यशोदादेवी पाठक);
सन्तान : ६ छोरी, ४ छोरा ।
व्यक्तित्व : निजामती मध्यमा गरी सरकारी सेवामा प्रवेश गरेका मैनाली नौसिन्दा, विचार, डिठ्ठा, तहबिलदार आदि हुँदै न्याय क्षेत्रमा न्यायाधीशसम्म भएका थिए । मैनाली आधुनिक नेपाली कथा साहित्यका प्रणोता हुन् । कुनै एउटा पात्रको जीवनको सङ्कटमय घटनालाई कलापूर्ण रीतिले लेख्नुलाई नै कथा रचना मान्ने मैनाली आदर्शवादलाई समाज सुधारको माध्यम बनाउँछन् । १९९२ मा शारदामा प्रकाशित मैनालीको चर्चित कथा ‘नासो’ ले आधुनिक नेपाली कथाको पहिलो श्रेय पाएको छ । आफ्ना कथामा ग्रामीण जीवनका विविध पाटालाई सरलरूपमा विश्लेषण गर्ने मैनालीले कथा थोरै लेखे पनि उनका सिर्जनाले पाठकको मनमुटु छामेका छन् । कथाका अतिरिक्त यिनको हास्यव्यङ्ग्य विधाका केही लेख निबन्धहरू पनि फुटकर रूपमा प्रकाशित छन् तर ती पुस्तकाकार रूपमा प्रकाशित हुन सकेका छैनन् ।
मैनाली सानैदेखि तार्किक क्षमताका धनी थिए । यिनका तर्कहरू सुनेर जो कोही पनि छक्क पर्थे । सानो तथा सामान्य विषयलाई पनि धेरै तरिकाबाट व्याख्या गर्न र अथ्र्याउन सक्थे । यिनको उक्त क्षमता साहित्यलेखनका निम्ति राम्रो खुराक बन्यो । १९७७ मा गुरुज्यू पं.हेमराज पाण्डेकहाँ सचिव भएर काम गर्दा यिनले थुप्रै स्वदेशी एवम् विदेशी विद्वान्सँग सङ्गत गर्ने अवसर पाएका थिए । त्यस्तै श्री ३ चन्द्रको महारानीसँग तीन धाम जाने अवसर पनि पाएका यिनले बङ्गाली साहित्यकारहरूको प्रभाव ग्रहण गरी त्यस प्रभावलाई नेपाली साहित्यमा प्रवेश गराएका थिए ।
प्रशासन र साहित्य दुवै क्षेत्रमा राम्रै फड्को मार्दै अगाडि बढेका मैनालीलाई वि.सं. २०० मा ‘डाकालाई’ केरकार गर्दा पिटेर मारेको र कृष्णप्रसाद कोइरालालाई पक्रिनुको सट्टा भगाएको भन्ने दुईवटा मुद्दा लगाई सरकारी सेवाबाट दिइएको थियो । त्यसपछि यिनको साहित्यिक यात्रामा केही समय ठेस लागे पनि २००७ पछि निरन्तरता दिएका थिए । यिनी थोरै लेखेर पनि धेरै चर्चामा आएका महान् साहित्यकार हुन् ।
मैनाली आफू जीवित रहुञ्जेलसम्म कुनै पनि सम्मान पुरस्कार र पदकहरू पाएनन् । बरु निधनपछि भने यिनको नाममा ‘मैनाली कथा पुरस्कार’ स्थापना गरी यिनको सम्मान गरिएको छ । यिनका नासो, परालको आगो जस्ता केही कथाहरू अङ्ग्रेजी र तालिम भाषामा अनुवाद गरी विश्व साहित्य जातमा पनि यिनको नाम राख्ने चेष्टा गरिएको छ । ‘नासो’ कथा सङ्ग्रहलाई जापानी भाषामा अनुवाद गरिएको छ । साहित्यकार अच्युतरमण अधिकारीले ‘गुरुप्रसाद मैनाली’ शीर्षकको महाकाव्य नै लेखी प्रकाशन गरेका छन् । यिनका कथाहरू विद्यालयदेखि क्याम्पस तहसम्मका पाठ्यपुस्तकहरूमा समावेश गरी यिनको उच्च कदर गरिएको छ । यिनका विषयमा थुप्रै प्राज्ञिक शोधकार्यहरू पनि भएका छन् । साहित्यिक पत्रकार सङ्घले २०३८ देखि हरेकवर्षको चैत १९ गतेका दिन ‘गुरुप्रसाद मैनाली कथा दिवस’ मनाउँदै आएको छ भने यिनका नाममा पुरस्कारसमेत स्थापना भएको छ । यिनी आधुनिक नेपाली कथा साहित्यका आधारस्तम्भ हुन् ।
सेवा : सरकारी सेवा— नौसिन्दा, विचारी, डिठ्ठा, उपसचिव— कानून मन्त्रालय (२०१६ भदौ १०), न्यायाधीश— काठमाडौँ जिल्ला अदालत (२०१७ वैशाख २३), न्यायसेवा अन्तर्गत ‘ख’ श्रेणीका कर्मचारी (एक वर्षे परीक्षण काल पूरा गरी श्री ५ को सरकारले मिति २०१७ भदौ ३० गतेका दिन सदर कर्मफर्म गरेको);
पहिलो रचना : तीर्थयात्राको वर्णन (१९८१);
कृति÷सृजना : नासो (कथासङ्ग्रह, २०२०), सबभन्दा बलियो (२००९, हा.व्य. कथा), खाद्याखाद्य भ्रमनिवारिणी सभा (२०११, हा.व्य. कथा) तथा विभिन्न पत्रपत्रिकामा कथा, हास्यव्यङ्ग्यात्मक लेख, निबन्ध आदि प्रकाशित;
निधन: २०२८ जेठ २५, काठमाडौँ, पशुपति आर्यघाटमा अन्तिम संस्कार;
परलोकपछि सम्मान : धुलिखेल न.पा.द्वारा पूर्णकदको शालिक स्थापना, गुरुप्रसाद मैनाली (महाकाव्काय, २०६८) प्रकाशन, २०३८ देखि चैत १९ गतेका दिन ‘गुरुप्रसाद मैनाली कथा दिवस’ मनाइँदै आएको, मैनाली कथा पुरस्कारको स्थापना, हुलाक टिकट प्रकाशन (२०५८) आदि ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment