श्री ३ जङ्गबहादुर राणा कुँवर Janga Bahadur Rana (part 4)
- Get link
- X
- Other Apps
कोतपर्व
श्री ५ राजेन्द्रका दुई महारानी साम्राज्यलक्ष्मी र राज्यलक्ष्मीबीचमा सत्ता र उत्तराधिकारी बीचमा अस्वस्थ प्रतिस्पर्धा हुन्थ्यो । साम्राज्यलक्ष्मीले युवराज सुरेन्द्रका लागि गद्दी खाली गर्न बारम्बार राजालाई दबाब दिन्थिन ् । त्यही क्रममा दरबार छाडी घुक्र्याएर हिँडेकी उनी १८९८ असोजमा मृत्युको मुखमा परेपछि राज्यलक्ष्मी सजाबाट अधिकार सम्पन्न बनिन् । राज्यलक्ष्मीले युवराज सुरेन्द्र र माहिला साहेबज्यू उपेन्द्रलाई पन्छाएर आफ्नो छोरा रणेन्द्रलाई राजगद्दीमा राख्ने सपना बुन्न थालिन् । उक्त कार्य माथवरसिंह थापाबाट मात्र हुन् देखेर राज्यलक्ष्मीले भारतमारहेका माथवरसिंहलाई प्रधानमन्त्री बनाउने शर्तमा काठमाडौँमा झिकाइन् र माथवरसिंह प्रधानमन्त्री बने । त्यस क्रममा माथवरसिंहलाई ल्याउने काम भान्जा जङ्गबहादुरलाई दिइएको थियो । ‘१९०० पुसमा प्राइममिनिष्टर एन्ड कमान्डर इन चीफ’ पदवीबाट माथवर शोभित भएपछि राज्इलक्ष्मी दङ्ग परिन्, जङ्गबहादुर पनि मामा प्र.म. भएपछि खुशी भएका थिए । माथवरले पनि राजाबाट ‘तेरो कुनै पनि हालतमा हत्या गरिने छैन’ भन्ने अभयदान र अन्य अधिकार पनि पाएका थिए ।
राज्यलक्ष्मीले माथवर प्र.म. भएपछि गर्न खोजेको आफ्नो काम माथवरबाट पूरा नहुने देखिन् । माथवरले सम्पूर्ण प्रशासनिक व्यवस्था सुदृढ बनाउँदै गए तर रणेन्द्रलाई उत्तराधिकारी बनाउने पक्षमा लागेनन् । रानीको उक्त प्रस्तावलाई यिनले सिधै अस्वीकार गरेपछि राज्यलक्ष्मी माथवरप्रति रुष्ट थिइन् । रानीले माथवरको जीवन समाप्त गरेर भएपनि आफ्नो छोरालाई गद्दीनसीन बनाउने प्रण कसिन् । यत्तिकैमा रानीले उनका विश्वासिला भारदार काजी गगनसिंह भण्डारी र काजी जङ्गबहादुरको सहयोगमा माथवरसिंहलाई मार्ने योजना बनाइन् । राजासहितको सहमतिमा १९०२ जेठ ६ राती कुलमानसिंह बस्न्यातलाई ‘रानी शूल उठेर सिकिस्त दिन् तुरुन्त आउनू’ भन्ने सन्देश पठाई माथवर राजदरबारमा प्रवेश गर्नासाथ पूर्व योजना अनुरुपनै जङ्गबहादुरले गोली हानी आफ्नै मामा माथवरको हत्या गरेका थिए । राजा रानीबाट पाएको अभयदान माथवरका निम्ति धोका सावित भयो ।
गगनसिंह भण्डारी राजा राजेन्द्रका समयका शक्तिशाली भारदार थिए । प्र.म. माथवरसिंहको हत्या गगनसिंहकै योजनाअनुसार सफल भएको थियो । माथवरको हत्या (१९०२ जेठ ६) भएपछि मुख्तियार अर्थात् प्र.म. फत्यजङ्ग शाह भए तापनि राज्यलक्ष्मीको समर्थन पाएका गगनसिंह राज्य र प्रशासनिक क्षेत्रका हर्ताकर्ता थिए । चौतरिया फत्येजङ्ग नाममात्रका प्र.म. हुनपुगे । उक्त कुराले फत्यजङ्गको अभिमानमा चोट पुग्यो । राजा राजेन्द्र पनि गगनसिंह र रानी बीचको सम्बन्ध देखेर तर्सिएका थिउ । यत्तिकैमा १९०३ भदौ २९ का दिन फत्यजङ्गले काजी अभिमानसिंह राना र जङ्गबहादुरलाई एकान्तमा लगी आफूले राजिनामा दिने कुरा बताएपछि ती दुई काजीले मुख्तियारलाई गगनसिंहको चरित्र गलत भएको जाहेर गरी ‘त्यसको समाधान मुख्तियारीबाट राजिनामा दिनु नभई उसको हत्या हो” भन्ने निष्कर्ष निकालेपछि हत्याको योजना बनेको थियो । त्यही योजनाअनुसार नै १९०३ भदौ ३१ का दिन राती गगनसिंह आफ्नै घरको पूजाकोठामा ध्यान बसेको समयमा १० बजेतिर उनको हत्या भएको थियो हत्यामा कसले गोली प्रहार ग¥यो भन्ने पत्तो लागेन तर मुख्तियार फत्यजङ्ग, काजी अभिमानसिंह राना र काजी जङ्गबहादुरको योजना अनुसार नै हत्या भएको कुरामा इतिहासकारहरू प्रायः एक मत छन् । यिनीहरूकै योजनाअनुसार लाल झा भन्ने व्यक्ति गोली हानेका थिए भन्ने भनाइ पनि छ । चाहे जे होस् उक्त घटनाभन्दा अघि गगनसिंह र जङ्गबहादुरले गगनसिंहको घर नजिकैको कंकेश्वरी मन्दिरमा एक अर्कालाई जुनसुकै हालतमा साथ सहयोग गर्ने कसम खाएका थिए । त्यही वाचा गगनसिंहको जीवनका लागि धोका सावित भएको थियो ।
वि.संं १९०३ भदौ ३१ गते राती गगनसिंहको हत्याको समाचार दरबारमा पुग्नासाथै आफ्ना विश्वासिला भारदारको हत्याको समाचारले महारानी राज्यलक्ष्मी विक्षिप्त बनेकी थिइन् । हातमा नाङ्गो तरबार लिएर गगनसिंहको घरमा पुगी परिवारलाई सान्त्वना सहित १ लाख रुपैयाँ किरिया खर्च दिएर महारानी हत्यारा पत्ता लगाउने योजना बनाउँदै राजदरबारतर्फ लागेकी थिइन् । बाटामा जङ्गबहादुर तीन पल्टन फौजसहित गगनसिंहको घरतर्फ जाँदै थिए । रानीले जङ्गबहादुरलाई ‘कता हिँडेको ?’ भन्ने प्रश्न गर्न नभ्याउँदै जङ्गले कुटनीतिक भाषामा आफ्ना जर्नेल गगनसिंहको हत्याको खबर पाएको र अव सरकारको गाथमा पनि असर पर्छ कि भने सुरक्षा दिन आएको जानकारी गराउँदा महारानी जङ्गप्रति कृतज्ञ बनेकी थिइन् । महारानी र जङ्गबीच भएको छलफलकै आधारमा रानीले गगनसिंहको हत्यारा पत्ता लगाउन सम्पूर्ण भाइ भारदारलाई कोतमा जम्मा हुने सन्देशसहित बिगुल बजाउन लगाइन् । जङ्गबहादुरले आफ्नो योजना अनुरुप नै आफ्ना फौजलाई कोत घेर्न र सुरक्षाको बन्दोबस्त गर्न लगाएका थिए । त्यस समयमा जङ्गबहादुरका तीन पल्टन सेना र ६ जना भाइहरू (बम, बद्री, कृष्ण्, रणोद्दीप जगत् र धीर)ले अन्य सेना र भारदारका हतियार समेत बाहिर राख्न लगाउने प्रयासमा घाइते बाघ झैँ बनेकी थिइन् । कोतभित्र हुनसक्ने सम्भावित अर्को दुर्घटना रोख्न रानीलाई कैद गर्नुपर्ने विषयमा मुख्तियार फत्यजङ्गले जानकारी गराउँदा जङ्गबहादुरले त्यसो नगर्न सल्लाह दिएका थिए । कोतभित्रको खतरापूर्ण परिवेश देखेर काजी अभिमानसिंह राना बाहिरिन खोज्दा उनको हत्या भयो र भारदारहरू एक आपसमा काटाकाट गर्न थाले । यस क्रममा जङ्गको पूर्व योजना र भाइहरूको सहयोगले लगभग १ घण्टा भित्रमा तत्कालीन प्र.म. काजी, सरदारसहित ३२ जना मारेका थिए । १९०३ भदौ ३१ राती उक्त भयावह हत्याकाण्ड भएपछि त्यसको भोलिपल्ट अर्थात् १९०३ असोज १ गते जङ्गबहादुरले महारानीबाट प्रधानसेनापति पद सहितको प्रधानमन्त्री पद प्राप्त गरेका थिए । उक्त घटनामा कुटिल रणनीति खेलेका जङ्गबहादुरको योजनालाई महारानीले बुझिनन् र जङ्गबहादुरले कोतलाई आफ्नो पक्षमा पारी त्यत्रो काण्ड मच्चाएर १०४ वर्षे राणा शासन प्रारम्भ गरे भन्ने तर्क धेरै इतिहासकारहरूको रहेको छ । प्रधानमन्त्री भएपछि आफू प्र.म. भएको सार्वजनिक गर्दै कोतमा मारिएका र भागेका सम्पूर्ण भाइभारदारहरूको सर्वस्वहरण गरी तिनका सन्तानलाई देश निकाला गरिएको घोषणा गरेका थिए । कोत पर्वका समयमा जङ्गबहादुरको उमेर २९ वर्षको मात्र हुँदै थियो ।
कोतपर्व भएपछि श्री ५ राजेन्द्र महारानीबीच भनाभन भयो । श्री ५ दरबार छाडेर अङ्गरक्षकसँग पाटनतर्फ गएका थिए । श्री ५ लाई साथ दिने अङ्गरक्षक सरदार भवानीसिंह खत्री थिए । भवानीसिंहले नै राजालाई उक्साएर लगे भन्ने कुरा महारानीको कानमा पुगेपछि महारानीले जङ्गबहादुरलाई भवानीसिंहको हत्या गर्नु भन्ने आदेश दिएकी थिइन् । जङ्गबहादुरले पनि तत्कालै सेनाका जवान पठाएर बाग्मतीपुल नजिकै भवानीसिंहको हत्या गरी राजालाई फिर्ता लगेका थिए ।
जङ्गबहादुर राणा कोतपर्वपछि प्रधानमन्त्री बने । यसपछि महारानी राज्यलक्ष्मी सुरेन्द्र र उपेन्द्रलाई हटाई आफ्नो छोरा रणेन्द्रलाई राजा बनाउन सक्ने कुरामा ढुक्क थिइन् । तर राजनैतिक स्थिति आफ्नो हातमा लिइसकेका जङ्गबहादुर रानीको योजनामा सहमत भएनन् । जङ्गबहादुरले त्यही व्यवहोराको जानकारी रानी सामु पठाइदिए । जङ्गबहादुरको सन्देश प्राप्त गरेपछि महारानीको मुटुमा आगो दन्केको थियो । महारानीले प्र.म. जङ्गबहादुरको हत्या गर्ने योजना बनाई काजी वीरध्वज बस्नेतलाई विश्वासमा लिएकी थिइन् । वीरध्वज बस्नेतलाई राजदरबारको भण्डारखालमा ताँबो, तुलसी र हरिवंश छुन लगाएर किरिया खुवाइन् र वीरध्वजले पनि ज्यूज्यान दिएर जङ्गबहादुरको हत्या गरी जसरी भए पनि रणेन्द्रलाई राजा बनाउने प्रण गरेका थिए । वीरध्वज पनि प्र.म. पद प्राप्त हुने कुरामा विश्वस्त थिए भने राजवंश बाहेक अरू भारदार रैती दुनियाँका सात खुनसम्म माफी पाउने भए । त्यसपछि महारानी र वीरध्वजबीच छलफल भई गगनसिंहका छोरा बद्रीसिंह र उजिरसिंहलाई भड्काएर आफ्ना पक्षमा मिलाए । यस योजनामा पण्डित विजयराज पनि सामेल थिए । जङ्गबहादुरलाई भण्डारखालमा आयोजित भोजमा बोलाई त्यहीँ सिद्ध्याउने योजना बन्यो । सोही बमोजिम १९०३ कार्तिक १७ गते हत्या गर्ने योजनासहित प. विजयराज पाण्डे जङ्गबहादुरलाई निमन्त्रणा दिन गएका थिए तर विजयराजले जङ्गबहादुरको बोली सुन्नासाथ डराएर सबै गोप्य कुरा भनिदिएका थिए । जङ्गबहादुर कत्ति पनि हडबड नगरी विजयराजलाई दरबारमै थुनेर आइ भारदार बोलाएर महारानीका षड्यन्त्रबारे जानकारी गराई तयारी अवस्थामा आफूसँगै भण्डारखाल जाने आदेश दिएका थिए ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment