श्री ३ जङ्गबहादुर राणा कुँवर Janga Bahadur Rana (part 8)
- Get link
- X
- Other Apps
श्री ३ जङ्गबहादुर राणाको सान तथा इज्जत
जङ्गबहादुरलाई अङ्ग्रेज सरकारको शान, इज्जत र फुर्तिफार्ती देखेर उनीहरूको वास्तविक बसोबास स्थल बेलायत जाने शोख सानैदेखि थियो । १८९३ मा माथवरसिंह थापासँग बेलायत जानभनी नेपालबाट हिँडे पनि उक्त भ्रमणदलले स्वीकृति नपाईँ कलकत्ताबाट फर्कँदा जङ्गबहादुर अत्यन्तै निरास भएको थिए । आफू प्र.म. बनेपछि १९०६ मा यिनले बेलायत जाने इच्छा राखी ब्रिटिस रेजिडेन्सीमा प्रस्ताव पठाए । उक्त प्रस्ताव पारित भई यिनी बेलायत भ्रमणमा जान पाउने स्वीकृति आयो । अङ्ग्रेज सरकारले यिनको यात्राका निम्ति सम्पूर्ण बन्दोबस्त गर्ने भयो । ४–५ महिनामा सम्पूर्ण प्रक्रिया पूरा गरी जङ्गबहादुर तत्कालीन श्री ५ सुरेन्द्रका दूत तथा नेपाली राजदूतका रूपमा भ्रमण गर्न गएका थिए । सो समयमा यिनले भाइ बमबहादुरलाई का.मु. प्रधानमन्त्री बनाएका थिए ।
वि.संं १९०६ माघ ४ का दिन बडा कप्तान रणमेहर अधिकारी, डिल्लीसिंह बस्न्यात, काजी हेमदल थापा, लप्टन करवीर गड्तौला, काजी करवीर खत्री, लप्टन लालसिंह सिजापति, सुब्बा सिद्धिमानराज भण्डारी, सुब्बा शिवनरसिंह प्रधानसहित ४१ जनाको टोली काठमाडौँबाट कलकत्तातर्फ प्रवेश गरेको थियो । भारतका विभिन्न शहरमा जङ्गबहादुरको भव्य स्वागत भएको थियो । उक्त यात्रामा नेपाली दलले बोकेका सामान जाँचपास गर्नु नपर्ने व्यवस्था मिलाएर जङ्गबहादुरले आफ्नो वास्तविक परिचय देखाएका थिए । लामो समयको पानीजहाज यात्रापछि १९०७ जेठमा १५ मा बेलायत पुगेका जङ्गबहादुरले त्यहाँ राजकीय सम्मान प्राप्त गरेका थिए । जङ्गबहादुर बेलायत जाँदा हेडिङ्टन नाम गरेको दुई सय हात लामो, पचासहात चौडा र सात तले जहाजमा गएका थिए । महारानी भिक्टोरिया लगायतका राजनीतिक व्यक्तित्वसँग शिष्टाचार भेटघाट गरी त्यहाँको राज्यव्यवस्थालाई राम्ररी अवलोकन गरेका थिए । त्यहाँका भौतिक, आर्थिक, सांस्कृतिक, सामाजिक, राजनीतिक, शैक्षिक विकासलाई अवलोकन गरेपछि आफ्नो देशलाई पनि त्यहाँको जस्तो सभ्य र सुन्दर बनाउने कल्पना जङ्गबहादुरले गरेका थिए । सोही यात्रामा यिनलाई स्कटल्यान्डको सैनिक दलले ‘गार्ड अफ अनर’ प्रदान गरेको थियो । लगभग तीन महिनाको बेलायत बसाइपछि जङ्गबहादुर आफ्नो टोलीसहित फ्रान्सतर्फ प्रस्थान गरेका थिए । फ्रान्समा पनि यिनले बेलायतमाझैँ उच्च सम्मान प्राप्त गरेका थिए । फ्रान्सका राष्ट्रपति लुई नेपोलियन तृतीयसँगको शिष्टाचार भेट गरी कूटनीतिक सम्बन्ध बढाएका थिए । फ्रान्सको विकास, कला, नृत्य, व्याले आदिबाट मोहित भएका जङ्गबहादुर लगभग ६ हप्ता जति त्यहीँ नै रमाएका थिए । त्यहाँबाट भारतहुँदै सन् १८५१ जनवरी २९ का दिन जङ्गबहादुरको भ्मणदल नेपाल आइपुगेको थियो ।
कहिले घोडा, कहिले हात्ती, बग्गी, पानी जहाज, स्टिमर आदिबाट लामो यात्रा गरेर नेपाल फर्किएका जङ्गबहादुर युरोप भ्रमण गर्ने पहिलो नेपाली हुन् । त्यहाँ देखेका भोगेका र अनुभव गरेका विकासका आधुनिक लहरहरूलाई यिनले केही मात्रामा नेपालमा पनि लागु गर्न खोजेका थिए । त्यसको प्रत्यक्ष प्रभाव अङ्ग्रेजी स्कूल स्थापना मुलुकी ऐन, औषधालय र वैद्यखाना स्थापना आदिको रूपमा देखिएका थिए । आफ्नो धर्म, संस्कृति र रीतिरिवाजहरूलाई पूर्ण रूपमा पालन गरी भ्रमण गरेका जङ्गबहादुरले लगभग एक वर्षको यात्रामा पनि म्लेच्छहरूले पकाएको खाना खाएका थिएनन् भने बाटामा गाई काटेका बखर सुन्नासाथ त्यस कुसंस्कारलाई तुरुन्तै रोक्नसमेत लगाएका थिए । जङ्गबहादुरको बेलायत भ्रमण १९०६ माघ ४ देखि १९०७ माघको मध्यसम्म रहेको थियो । उनले दोस्रोपटक १९३१ मा पुनः बेलायतयात्राको योजना मिलाई बम्बई पुगेका थिए । त्यहाँबाट बेलायत जानुभन्दा केही अगाडि नै उनी घोडाबाट लडेर घाइते भएका थिए । ठूलो चोट लागेको थियो । भारतका भाइसरायले उनको उपचारका लागि डाक्टरको बन्दोबस्त मिलाएका थिए । जङ्गबहादुर उक्त यात्रा १ वर्षका लागि स्थगित गरी नेपाल आएका थिए । जङ्गले १९२२ तिर पनि बेलायत यात्रा गर्न खोजेका रहेछन् भन्ने कुरा १९२१ मा काशीवास गएका पण्डित विजयराजलाई जङ्गबहादुरले लेखेको पत्रबाट सङ्केत मिलेको छ ।
वि.सं.१९०६–१९०७ मा जङ्गबहादुरले बेलायत यात्रा गरेपछि आफ्नो देशको विकासका लागि कानूनको आवश्यकता देखे । आफू गोरखाली भए तापनि ‘न्याय हराए गोरखा जानू’ भन्ने भनाइ सार्थक नरहेको महसुस गरी अब ब्रह्म इन्साफबाट देशमा न्याय स्थापना गर्न सकिँदैन भन्ने कुरा बुझेका जङ्गबहादुले १९०७ मा ऐन तर्जुमा गर्नका निम्ति कौशल अड्डा खडा गरेका थिए । उक्त अड्डामा लगभग दुई सय सदस्यहरू मनोनीत गरी कानूनको मस्यौदा पेश गर्ने जिम्मा दिएका थिए । अङ्ग्रेजहरूले बनाएको ऐन, कानून र नियमको अध्ययन गर्ने काम भयो । करिब तीन वर्षको कडा मेहनतपछि विस्तृत ऐनको खाका तयार भयो । उक्त प्रस्तावित ऐनमा देवानी र फौजदारी सम्बन्धी मुद्दाका फरक–फरक महलहरू श्री ५ सुरेन्द्र र युवराजधिराज त्रैलोक्यले हस्ताक्षर गरी लालमोहर गरेपछि मुलुभर लागू हुने गरी मुलुकी ऐन लागी गरिएको थियो । उक्त ऐनमा २१९ जनाले हस्ताक्षर गरेका थिए । सिन्दुरमोहर भने पूर्व राजा राजेन्द्रले लगाएका थिए ।
मुलुकी ऐन जारी भएसँगै ब्रह्म इन्साफ गर्ने धार्मिक प्रवृत्ति अन्त्य भई देश भरका अड्डा अदालतमा वैज्ञानिक आधारबाट न्याय दिने प्रचलन बसेको थियो । उक्त ऐन नेपालको पहिलो मूल ऐन हो । उक्त ऐनमा सतीप्रथा, दास प्रथा, जार काट्न पाउने व्यवस्था, परस्त्रीगमन गर्नेलाई सजायसम्बन्धी व्यवस्था, अपराधीलाई सजायसम्बन्धी व्यवस्था, जातीय समूहहरूको परम्परा र रिवाजबारे व्यवस्था आदिलाई विशेष प्राथमिकता दिई तयार पारिएको थियो । उक्त ऐन तर्जुमा गर्ने आयोजनाको नेतृत्व लोकपति र लेखापति भन्ने दुई जना संस्कृत विद्वान् मैथिल ब्राह्मणहरूले पाएका थिए ।
मुलुकी ऐनमा व्यवस्था भएका सती प्रथा र दासप्रथाको उन्मूलनसम्बन्धी विषयलाई आधार बनाई श्री ३ चन्द्रशमशेरले ती दुवै प्रथाको अन्त्य गरेका थिए । उक्त ऐनमा केही भेदभावपूर्ण व्यवस्था थिए । ती भेदभावपूर्ण व्यवस्थालाई २००७ मा प्रजातन्त्र आएपछि केही संशोधन गरिएको थियो । २०२१ मा राजा महेन्द्रले नँया मुलुकी ऐन नबनाएसम्म ११० वर्ष लामो समय जङ्गबहादुरको मुलुकी एनेकै आधारमा काम कारबाही अगाडि बढाइयो । वर्तमान समयमा बनेको देवानी ऐनको आधारसमेत मुलुकी ऐन (१९१०) ले नै प्रदान गरेको छ । मुलुकी ऐनका जगमा टेकेर समयअनुसार परिष्कार र परिमार्जन गरी देशका कानूनहरू बनाइँदैछन् ।
जङ्गबहादुर सैनिक शक्तिकै माध्यमबाट सत्ताको केन्द्रमा पुगेका थिए । सैनिक शक्तिबाटै उच्च ओहदामा पुगेका यिनले सैनिकहरूको मनमा आफ्नो प्रभाव जमाउन १९१० चैत ४ गते बुधबारका दिन टुँडीखेलको माझमा एक हातमा तरबार र अर्को हातमा कागजको मुट्ठो लिएको आफ्नो सालिक बनाउन लगाएका थिए । उक्त सालिक निर्माण गराउने सामग्री बेलायतबाट झिकइएको थियो । आफ्नो सुरक्षा वइवस्था कस्तो छ भन्ने देखाउन यिनले त्यही सालिकको चारैतर्फ सिंहका सालिक पनि राखेका थिए । युवा रहुन्जेलसम्म शक्तिलाई मान्ने जङ्गबहादुर वृद्ध हुँदै गएपछि लगभग ५७ वर्षको उमेरमा धार्मिक व्यक्तित्वको रूपमा आफूलाई चिनाउन बाग्मतीको किनार त्रिपुरेश्वरनेर एउटा मन्दिर बनाउन लगाई टुँडीखेलमा रहेको आफ्नो मूर्ति उक्त मन्दिर अगाडि लगेर १९३२ वैशाख ९ गते मङ्गलबारका दिन राखेका थिए । त्यस मूर्तिलाई कोही परिवर्तन गरी हाज जोडेर प्रार्थना गरेका जस्तो बनाएका थिए । टुँडीखेलमा रहेको सालिक वरिपरि भएका चारवटा सिंहका मूर्तिलाई पनि त्यहीँ मन्दिरका देवताको वरिपरि राखेका थिए । यी दुई घटनालाई गहिरिएर अध्ययन गर्दा जङ्गबहादुरले युवावस्थामा आफू शक्तिशाली छु भन्ने सोचेका थिए भने जीवनको उत्तरार्धमा आफूभन्दा शक्तिशाली ईश्वर भएको र आफू पनि ईश्वरको भक्त भएको महसुस गरेका भनी इतिहासकारहरूले विश्लेषण गरेका छन् ।
नेपाल तिब्बतबीच समय–समयमा युद्ध र सन्धि हुँदै आएका छन् । १८४९ देखि शान्तिपूर्ण तवरबाट नेपालीहरूले तिब्बतमा व्यापार गरेर बस्न थालेका थिए । तर जङ्गबहादुरको शासनकालमा पनि १९०९ देखि तिब्बतीहरूले ल्हासा र कुत्तीमा रहेका नेपाली व्यापारीहरूलाई अनावश्यक दुःख दिने, पिट्ने, लुट्ने गर्न थालेका थिए । उक्त कुरा नेपाल सरकारका सामु जाहेरी आएपछि नेपालले कडा शब्दमा विरोधपत्र लेखी ल्हासामा पठाएतापनि त्यहाँको सरकारले कुनै चासो देखाएको थिएन । उक्त बेवास्ताबाट क्रुद्ध भएका जङ्गबहादुरले सन् १८५५ मार्च ६ (१९११ फागनु) मा तिब्बत विरुद्ध युद्धको घोषणा गरी तीन पल्टन फौज केरुङतर्फ, ओलाङचुङ गोलामा १ पल्टन र कुतीतर्फ २ पल्टन फौज पठाएका थिए । भीषण युद्ध भयो । दुवैतर्फका थुप्रै सैनिकहरू हताहत भए । नेपाली फौजले कुत्ती, केरुङ, धाकलिङ, चौर आदि स्थान कब्जा गरेको खबर पाएपछि जगत्शमशेरको कमान्डमा अर्को एक पल्टन फौज काठमाडौँबाट पठाएका थिए । नेपालले झुँगागढी कब्जा गर्दा तीनसय जति नेपाली सेनाले ज्यान गुमाएका थिए । उक्त समाचार सुन्नासाथ जङ्गबहादुर आफैँ एक फौज सेना लिएर तिब्बत प्रस्थान गरेका थिए । नेपाली सैनिक बलले तिब्बतमा एक पछि अर्को विजय हासिल गर्दै जान थालेपछि तिब्बतीहरूले नेपालसँग सन्धि गर्ने प्रस्ताव जाहेर गरेका थिए । जङ्गबहादुरले पनि युद्ध नलम्ब्याउन सन्धि गर्ने प्रस्तावमा सहमति जनाएका थिए । तर उक्त सन्धिमा सहमति नभई फेरि युद्ध हुन शुरु भयो । थुप्रै भोटेहरू मरे (अन्ततः सन्धिका निम्ति भोटेहरू काठमाडौँ आउनेभए ।) सोहीअनुसार सन् १८५६ जनवरी (१९१२..) मा तिब्बती टोली काठमाडौँ आएपछि थापाथलीमा व्यापार सम्झौता भयो र सन् १८५६ मार्च २४ (१९१२ फागुन) मा एउटा समारोह आयोजना गरी उक्त सन्धिपत्रमा नेपालका तर्फबाट प्र.म. जङ्गबहादुरले र तिब्बतका तर्फबाट छेन मे.डा. वाङ्देनले हस्ताक्षर गरेका थिए । उक्त सम्झौतामा तिब्बतले प्रत्येक वर्ष नेपाललाई दसहजार रुपैयाँ बुझाउने ल्हासामा नेपाली वकिल राख्ने, नेपाली व्यापारीहरूसँग जगात आदि अनावश्यक महसुल कर तिब्बतले नलिने, आफूले कब्जामा लिएका क्षेत्रहरू फिर्ता गर्ने आदि विषयहरू रहेका छन् । उक्त सम्झौतापछि नेपालले तिब्बतबाट आफ्नो फौज फिर्ता बोलाएको थियो ।
इतिहासको गर्भमा लुकेका विषयहरूमध्ये जङ्गबहादुरको कार्यकाल कार्यविधिसमेत एक हो । जङ्गबहादुर १९०३ देखि १९३३ सम्म लगातार ३० वर्ष प्रधानमन्त्री बने भन्ने कुरा इतिहासका ठेलीहरूमा लेखिएका छन् तर त्यसो सरासर गलत पक्ष हो । १९०३ मा प्र.म. बनेपछि यिनी १९१३ सम्म लगातार सो पदमा रहेका थिए । १९१३ साउन (सन् १८५६ अगस्ट १) का दिन यिनले श्री ५ सुरेन्द्रसँग सम्झौता गरी नाटकीय रूपमा कमान्डर इन चीफ र प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । यिनको राजीनामा भएकै दिन यिनका भाइ बमबहादुर कुँवर राणा प्रधानमन्त्री बनेका थिए । त्यही समयमा जङ्गबहादुरले श्री ५ लाई रिझाएर आफू कास्की र लमजुङ्गको श्री ३ महाराज बनेका थिए तर १९१४ जेठमा प्र.म. बमबहादुरको निधन भएपछि यिनी १९१४ जेठ १४ मा पुनः प्रधानमन्त्री पदमा ‘श्री ३ महाराज’ पदवीसहित बहाली हुँदा ‘प्रधानमन्त्ती तथा श्री ३ महाराज’ भनी सुशोभित भएका थिए । उक्त समयपछि भने यिनी १९३३ सम्म लगातार उक्त पदमा विराजमान थिए । त्यसैले जङ्गबहादुर राणा दुई पटक प्रधानमन्त्री भएका थिए भन्ने कुरा स्पष्ट छ ।
प्रधानमन्त्री जङ्गबहादुर राणा अत्यन्तै चतुर भएकाले आफू कसरी श्री ५ भन्दा शक्तिशाली बन्ने भन्ने उपायको खोजीमा थिए । १९०५ जेठमा यिनले ‘राणा’ उपाधि लिए भने सोही साल राणा र राजपूतबीच बिहावारी चल्ने नियम बनाई राजाबाट लालमोहर गराइसकेका थिए । यतिले मात्र सन्तुष्ट नभई आफू ‘महाराज’ पदवीबाट सुशोभित बन्ने इच्छा जागेपछि यिनले राजा सुरेन्द्रसँग लामो समय कुरा गरी १९१३ साउन (सन् १८५६अगस्ट १) मा कमान्डर इन चीफ र प्रधानमन्त्री पदबाट नाटकीय शैलीमा राजीनामा गरेका थिए । श्री ५ सुरेन्द्र जङ्गबहादुरप्रति अत्यन्तै कृतज्ञ थिए । (जङ्गबहादुरले भनेका विषयमा नाइँनास्ति गदैनथे । जङ्गबहादुर प्रति श्री ५ किन त्यति कृतज्ञ थिए भन्ने कुरा तलको लालमोहरको नक्कलले खुलाउँछ ।)
जङ्गबहादुरले प्र.म. पदबाट राजीनामा दिनासाथ जङ्गबहादुरकै सल्लाहअनुसार श्री ५ ले जङ्गका भाइ बमबहादुरलाई प्रधानमन्त्री र कृष्णबहादुरलाई कमान्डर इन चीफमा नियुक्त गरेका थिए । उक्त घटना अन्य कुनै भाइभारदारलाई थाहा नभएकाले सबै आश्चर्यमा परेका थिए । जङ्गबहादुरको राजीनामा भएको भोलिपल्ट राजगुरु विजयराजले जङ्गबहादुर र राजासँगै भएका स्थानमा उपस्थित भई सम्पूर्ण भारदार र जनताले समेत तपाईँका शिरमा राष्ट्रको श्रीपेच लगाउने इच्छा गरेकाले तपाईँले उक्त कुरालाई स्वीकार्नुपर्छ भनी जङ्गबहादुरलाई भनेका थिए । विजयराजबाट भनिएको उक्त भनाइ पनि जङ्गबहादुर र राजाको योजनामुताबिक नै बयान गरिएको हो भन्ने कुरा इतिहासकारहरूले उल्लेख गरेका छन् ।
विजयराजबाट आएको उक्त प्रस्ताव जङ्गबहादुरले स्वीकार नगरी आफूलाई राजाले कास्की र लमजुङदुई जिल्लाको सार्वभौमसत्तासहित महाराज पद दिए हुन्थ्यो भन्ने व्यहोरा राजासामु जोहर गरेका थिए । जङ्गबहादुरलले जनता र भारदारबाट आएको प्रस्ताव अस्वीकार गरी आफ्नोमान राखेको भनी बुझेका श्री ५ ले १९१३ साउन (सन् १८५६ अगस्ट ६) का दिन एउटा लालमोहर गरी जङ्गबहादुरलाई कास्की र लमजुङ दुई जिल्लाको सार्वभौमसत्ता सहित ‘श्री ३ महाराज’ पदवीसमेत दिएका थिए । सोही दिन अर्को एक लालमोहर गरी नेपालको प्रधानमन्त्ती पद जङ्गबहादुरका सन्तान दरसन्तानमा पुस्ता–पुस्तासम्म सरेर जाने अधिकार समेत दिएका थिए । उक्त लालमोहरमा देशमा दण्ड–सजाय गर्ने, युद्ध गर्ने, सन्धि गर्ने, ऐनकानून बनाउने सम्पूर्ण राजकीय अधिकार जङ्गबहादुरका सन्तानमा सर्दै जाने नियम उल्लेख गरिदिएका थिए । त्यही दिनदेखि राणा परिवारको शासन प्रामाणिक रूपमा अगाडि बढेको थियो । त्यही ऐतिहासिक लालमोहरले जङ्गबहादुरको शक्तिलाई चुलीमा पु¥याएको थियो । श्री ५ राष्ट्राध्यक्ष भए तापनि उनकोसबै शक्ति काटिएर श्री ३ महाराजमा निहित भएको थियो । १९१४ जेठ १४ मा राजा सुरेन्द्रले श्री ३ महाराज जङ्गबहादुरलाई प्रधानमन्त्री पदमा पुनर्बहाली गरेपछि यिनी सिङ्गो नेपालकै श्री ३ महाराज बनेका थिए । त्यसपछि सन्तान दरसन्तानमा सर्दै गएको ‘श्री ३ महाराज’ पदवी ९३ वर्षसम्म शासनको पर्याय नै बनेर रहेको थियो ।
१९१३ मा श्री ५ सुरेन्द्रले जङ्गबहादुर राणालाई ‘श्री ३ महाराज’ पदवीसहित गरिदिएको लालमोहरको नक्कल (राणा शासनको वृत्तान्त पृ.७७ र ७८ बाट टाइप गर्ने)
वि.संं १९१४ तिर भारतमा अङ्ग्रेजहरूले आफ्नो प्रभुत्व जमाइसकेका थिए । भारतमा अङ्ग्रेजहरूले आफ्ना आश्रित राजाहरूको राज्य पनि धमाधम खोस्न लागेका थिए । अङ्ग्रेजहरूको त्यसप्रकारको गतिविधिबाट असन्तुष्ट भारतका आदिवासीहरू अङ्ग्रेजहरूका विरुद्धमा फौज खडा गरी विद्रोह गर्न लागेका थिए । अङ्ग्रेजहरू पनि उक्त विद्रोह दबाउन भरमग्दुर प्रयासरत थिए । त्यही खबर काठमाडौँमा जङ्गबहादुरका कानमा परेपछि मौकाको फाइदा उठाउँदै यिनले अङ्ग्रेजहरूलाई सहयोग गर्न आफू तत्पर रहेको व्यहोराको पत्र कम्पनी सरकारसमक्ष पठाएका थिए । शुरुमा त कम्पनी सरकारले उक्त पत्रको वास्ता गरेको थिएन तर अन्त्यमा केही नलाग्ने देखेपछि पत्रको जवाफ पठाउँदै सहयोग मागेको थियो ।
कम्पनी सरकारको उक्त पत्र प्राप्त हुनासाथै जङ्गबहादुरले १९१४ असारमा ३ हजार फौज हेटोँडाबाट कम्पनी सरकारको सरहदतर्फ पठाएका थिए । उक्त फौजले आजमगढ, जैनपुर, गोरखपुर आदि शहरहरू आफ्नो कब्जामा लिएर विद्रोहीहरूलाई दमन गरेको थियो । तर लखनौमा विद्रोहीहरूको सङ्गठन बलियो देखेपछि गर्भनर जनरल क्यानिङ्ले नेपालसँग फेरि पनि सहयोग मागेपछि प्र.म. जङ्गबहादुर आफैँले ८००० सेनाको नेतृत्व लिएर लखनौतर्फ लागेका थिए । जहाँ जङ्गबहादुर सामु विद्रोहीहरूले आत्मसमर्पण गरेका थिए ।
लखनौमा सिपाहीविद्रोह दमन गर्न गएको नेपाली टोलीले अङ्ग्रेज सैनिकसँग मिली इमामबारा, केसरबाग, मोती महल आदि कब्जा गर्न सफल भएको थियो । त्यही मौकामा नेपाली फौजले त्यहाँका नवाव र बेगमहरूका घरभित्र पसी थुप्रै धनदौलत कब्जा गरेको थियो । नेपाली फौजले लखनौमा वीरताका साथ लडी अङ्ग्रेजलाई सहयोग गरेको कुरा तत्कालीन अमेरिकी र बेलायती अखबारहरूले समेत छापेका थिए । विद्रोहीहरूले केही ब्रिटिस महिलाहरूलाई अपहरण गरेको सुनेका जङ्गबहादुरले आफ्नो फौज पठाई कमिस्नर ज्याकसनकी बहिनी र कप्तान प्यट्रिक ओरकी पत्नीलाई सकुशल उद्दार गरी ब्रिटिस क्याम्पमा बुझाएका थिए । लखनौमा नेपाली फौजले गरेको उक्त कारबाहीलाई ‘लखनौ लूट’ नामले चिन्ने गरिएको छ । त्यस समयमा अङ्ग्रेजहरूले नेपाली फौज र जङ्गबहादुरको धेरै तारिफ गरेका थिउ । जङ्गबहादुर १९१४ चैतमा इलाहाबाद पुगी गभर्नर जनरल लर्ड क्यनिङ्गसँग् शिष्टाचार भेट गर्दा च्यनिङ्गले सुगौली सन्धिको बेला भारतले कब्जा गरेको नेपाली भूमि फिर्ता गर्न कुरा गरेका थिए । त्यहाँबाट जङ्गबहादुर नेपाल फर्के १९१५ वैशाखमा काठमाडौँ आइपुगेका थिए ।
भारतको सिपाही विद्रोह अन्तय भएको केही समयपछि कम्पनीसरकारले सहयोगी राष्ट्रहरूलाई धन्यवाद ज्ञापन गर्ने समयमा बेलायतकी महारानी भिक्टोरियाले सन् १८५८ जुनमा जङ्गबहादुरलाई जीसीबी भूषणद्वारा सम्मा गरेकी थिइन् । डिल्लीरमण रेग्मीका अनुसार नेपालको इतिहासमा जङ्गबहादुर भन्दा अगाडि कुनै पनि प्रधानमन्त्रीले अङ्ग्रेजले दिएको सम्मान तथा पदक नलिएको कुरा उल्लेख छ ।
प्रधानमन्त्री तथा श्री ३ जङ्गबहादुर राणा कुटनीतिक चालले द्वैध चरित्र देखाउने काम समेत गर्दथे । यिनले भारतीय विद्रोहीलाई दमन गर्न अङ्ग्रेजहरूलाई सहयोग गरेका मात्र थिएनन् । तिनै आफूले सहयोग गर्दा दमनमा परेका विद्रोही सेना र त्यसका नेताहरूलाई नेपालमा शरण दिने काम पनि जङ्गबहादुरले नै गरेका थिए ।
यसरी द्वैध चरित्र देखाएका जङ्गबहादुरले भारतका विद्रोहीहरू आफ्नो स्थानमा हारेर १९१५ मा नेपालतर्फ पसेपछि तिनीहरूलाई आश्रय दिएर बचाएका थिए । भारतबाट निर्वासित भएर नेपालको तराईमा ६० हजार जति विद्रोहीहरू आएर बसिसकेका थिए । कतै ती विद्रोहीहरूले नेपालमा युद्ध त गर्ने होइनन् भनी सुरुमा त जङ्गबहादुर आत्तिएका थिए तर तिनीहरूले जङ्गबहादुरसँग आत्मसमर्पण गरी आश्रय माग्दा तिनीहरूलार्ई जङ्गबहादुरले अभय स्वरुप तराईमा आश्रय पनि दिएका थिए । त्यसक्रममा बेगम हजरत, नवाबका छोरा, नानासाहेब धुन्धुपन्त आदि उक्त आश्रयबाट लाभान्वित भएका थिए । स्त्री हत्या र बालहत्या गर्ने विद्रोहीहरूलाई भने कम्पनी सरकार सामु बुझाए पनि अन्य सम्पूर्ण विद्रोहीलाई नेपालमा आश्रय दिई जिउ, धनको सुरक्षा गर्ने वातावरण तयार गर्ने काम जङ्गबहादुरले गरेका थिए ।
हुन त सिपाही विद्रोहीहरूलाई मात्र नभई यस अघि नै १९०६ मा भएको सिख–अङ्ग्रेज युद्धपछि बन्दी भएकी पञ्जाबकी महारानी चाँदकोर बन्दी गृहबाट भागी नेपाल प्रवेश गरेपछि पूर्व महारानीको हैसियतमा राखी जङ्गबहादुरले आफ्नै दरबार एरियाभित्र घर बनाई शरण दिएका थिए । चाँदकौरलाई त मासिक २५०० भत्ताको व्यवस्था पनि थियो भनिएको छ ।
वि.सं. १९१४ मा भारती सिपाही विद्रोहको प्रतिकार गर्न जङ्गबहादुरले अङ्ग्रेजहरूलाई सघाएपछि १९१५ मै उनले व्यक्तिगत रूपमा सम्मान तथा पदक पाए । तर त्यस सहयोगबाट जङ्गबहादुरलाई व्यक्तिगत फाइदा मात्र नभएर नेपाल राष्ट्रकै हितमा एउटा महत्वपूर्ण उपलब्धि हात पारेको थियो । उक्त सिपाही विद्रोह विरुद्धको सहयोगको अन्तिम घडीमा इलाहावादमा लर्ड क्यानिङसँग गरेको शिष्टाचार भेटमै क्यानिङले कृतज्ञतापूर्वक जङ्गबहादुरलाई सुगौली सन्धिमा अङ्ग्रेजहरूले हडपेको केही नेपाली भूमि नेपाललाई फिर्ता गर्ने वचन दिइसकेका थिए । क्यानिङको सोही वचनअनुसार नै भीमसेन थापाका समयमा सुगौली सन्धि गरेर नेपालबाट लगिएका बाँके, बर्दिया, कैलाली र कञ्चनपुरसमेत हालका चार जिल्ला १९१८ मा नेपाललाई फिर्ता गरिएको थियो । जसलाई हाल पनि ‘नयाँ मुलुक’ भनी चिन्ने गरिएको छ । त्यसपछि श्री ३ जङ्ग नयाँ मुलुकमा वर्षेनी जसो शिकार गर्न जान्थे । उक्त महत्वपूर्ण उपलब्धि भनेकै जङ्गबहादुरको कुटनीतिक योगदानको उपज हो । जङ्गबहादुरले सिपाही विद्रोहमा अङ्ग्रेजलाई साथ नदिएका भए उक्त चार जिल्ला अहिलेसम्म पनि भारतीय भूमि भनेर चिनिन्थ्यो होला ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment