निष्ठानन्द बज्राचार्य Nistha Nanda Bajracharya

विधा÷क्षेत्र ः प्रकाशन÷लेखन÷बौद्धमार्गी जन्म ः १९१५ मार्ग शुक्ल चौथी;  ज.स्थान ः ओमबहाल, नः बही, काठमाडौँ;  बा ः मुक्तानन्द;  आमा ः थकुमती; शिक्षा ः संस्कृत;  विवाह:  २ विवाह;  सन्तान ः १ छोरा, १ छोरी । व्यक्तित्व ः निष्ठानन्द बौद्धिक व्यक्तित्व हुन् । कहिले व्यापार त कहिले सरकारी सेवामा प्रवेश गर्दै आफ्नो भाषा र संस्कृतिको जगेर्नामा लागेका यिनले ‘प्रज्ञापारमितायागु एकविंशती इलोकया भाषासहित नेवारीभाषाबाट अनुवाद गरी सबैभन्दा पहिले छापाखानाबाट प्रकाशन गरेका थिए । त्यसका अतिरिक्त यिनले बुद्ध धर्ममा आधारित थुप्रै पुस्तकहरू नेवारी भाषामा लेखी प्रकाशन गरेका छन् । नयिनीद्वारा लिखित ‘ललितविस्तार’नामक पुस्तक बौद्ध दर्शनको एक महŒवपूर्ण कृति हो । वारी भाषाको चार स्तम्भमध्ये यिनी एक हुन् । राणा शासन कालको अँध्यारो युगमा पनि नेवारी भाषालाई पुनः जागरण ल्याउने कार्यमा मुख्य भूमिका निभाएका यिनी पुनः जागरण समयका गद्य प्रतिभा थिए । सरकारी सेवामा आबद्ध यिनले भाषा जागरणकै निमित्त कलकत्ताबाट प्रेस खरिद गरेर आफ्नै घरमा प्रेस स्थापना गरेका थिए ।  यिनी आफ्नो मयका प्रख्यात पण...

श्री ३ जङ्गबहादुर राणा कुँवर Janga Bahadur Rana (part 1)

 

प्रशस्ति— स्वस्तिश्री मद्दती प्रचण्ड भूजदण्डेत्यादि श्री श्री श्रीमहाराज जङ्गबहादुर राणा जि.सि.बि. आण्ड जि.सि. येस.आइ.थोङ–लिङ–पिम्मा–को–काङ–वाङ–स्याङ प्राइम मिनिस्टर याण्ड कम्यान्डर–इन–चिफ ।

राजाा रणबहादुर शाहका अङ्गरक्षक काजी बालनरसिंह कुँवरका आठ छोरा मध्ये दोस्रा छोरा जङ्गबहादुरको जन्म १८७४ असार ७ का दिन थापाथलीमा भएको थियो । बालनरसिंहकी कान्छी कजिनी गणेशकुमारीबाट जन्मिएका जङ्गबहादुर नेपालमा राणा शासनको सूत्रपात गर्ने व्यक्ति तथा प्रथमश्री ३ र राणा शासनकालका प्रथम प्र.म. पनि हुन् । जङ्गबहादुरको न्वारानको नाम वीरनरसिंह थियो र यिनको स्वभावका आधारमा यिनका मामा माथवरसिंह थापाले जङ्गबहादुर भनी बोलाउँथे त्यही नाम नै पछि प्रचलित भएको थियो ।

भारतको चितौरगढका शासक महाराणा प्रतापका सन्तानहरू भारतवर्षका विभिन्न स्थानमा छरिँदै जान थालेपछि तिनकै एक सन्तान अहिराम कुँवर नेपालतर्फ प्रवेश गरेका थिए । अहिरामका छोरा सरदार रामकृष्ण कुँवर श्री ५ पृथ्वीनारायण शाहको राज्यविस्तार अभियानमा सक्रिय रहेका थिए । रामकृष्णका छोरा रणजितले पनि राजपरिवारको सहयोगार्थ कार्य गरेका हुनाले काजी पदबाट सुशोभित थिए । त्यस्तै रणजितका छोरा बालनरसिंहले पनि रणबहादुर शाहको शासन कालमा काजी पद पाएका थिए । उनै बालनरसिंहका छोरा जङ्गबहादुर हुन् ।

जङ्गबहादुरको मावली खलक पनि यिनको पारिवारिक विरासत जत्तिकै महत्वको थियो । यिनका मावली हजुरबा नयनसिंह थापा, प्रधानमन्त्री भीमसेन थापाका भाइ थिए । नयनसिंह स्वयम् काजी थिए भने नयनसिंहका छोरा अर्थात् । जङ्गबहादुरका मामा प्र.म. अर्थात् मुख्तियार माथवरसिंह थिए । तिनै मामाबाट ‘जङ्गे’ नाम पाएर मामाबाट नै केही राजनीतिक र कुटनीति सिकेका जङ्गबहादुर आफैँमा पनि विशेष खुबी र तिकडम भएका व्यक्ति थिए ।

जङ्गबहादुरको विवाह एघार वर्षको उमेरमा काजी प्रसादसिंह बस्नेतकी छोरी प्रसादलक्ष्मीसँग १८८५ मा भएको थियो । तर प्रसादलक्ष्मीको असामयिक निधन भएपछि यिनी साली सिद्धिगजेन्द्रलक्ष्मीलाई माग्न भनी ससुराली जाँदा अपमानित भई फर्कनुपरको थियो भने तिनै सालीको अर्कै मानिससँग विवाह भएको थियो । अर्काकी पत्नी भइसकेकी सालीलाई पनि जबर्जस्ती भिœयाएर यिनले जारी तिरेका थिए । त्यस्तै प्रसादलक्ष्मीको मृत्युपछि यिनले १८९६ मा सनकसिंह टन्डनकी बहिनी नन्दकुमारीसँग विवाह गरेका थिए । कोतपर्वमा मारिने चौतरिया–फत्येजङ्गकी बहिनी हिरण्यगर्भकुमारी (मैयाँ महारानी)सँग यिनले १९१० मा विवाह गरेका थिए ।

(यिनको विवाहको बारेमा विस्तृत विवरण जीवनीको दाोस्रो भागमा दिइएको छ .................................... )

 

बुबा काजी बालनरसिंह कुँवरको जागिरे जीवनसँगै जङ्गबहादुर पनि बाबुसँगै बस्ने गर्दथे । यत्तिकैमा डडेलधुरामा बाबुसँगै गएको समय १८९० मा यिनी सुबेदार पदमा नियुक्त भई १८९२ मा जुम्ला सरुवा भई रिसल्लातर्फको लप्टन भइसकेका थिए । १८९४ मा भीमसेन थापाको पतनसँगै नेपालमा ठूलो राजनीतिक हलचल शुरु भयो । थापा खलक र पाँडे खलकबीचको शीतयुद्धको कोपभाजनमा सैनिक र कर्मचारीहरूपनि पर्न थालेका थिए । भीमसेनको पतनसँगै पाँडेपक्ष बलियो भई थापाखलकका आफन्त नातागोतासमेतलाई सर्वस्वहरण गर्न थालेका थिए । जङ्गबहादुर पनि भीमसेन थापाका भाइ नयनसिंहकी छोरीपट्टिका नाति तथा बालनरसिंह ज्वाइँ भएका नाताले यी दुवैको जागिर खोसिएको थियो । बाबु छोराकै जागिर खोसिएर सर्वस्वहरण भएपछि जङ्गको परिवारलाई ठूलो आर्थिक सङ्कट परेको थियो । ऋण माग्दा आफन्तहरूले पनि हेपेर कुरा गर्न थालेका थिए । आफ्नै काका वीरभद्रले लगाएको कटुवचन यिनले जीवनभर बिर्सिन सकेका थिएनन् । जागिरको अभावमा छट्पटिएका जङ्गबहादुर घरको समस्या समाधान गर्न जुवा खेलेर पैसा कमाउने सोचतर्फ गए तर त्यहाँ उल्टै एघार सय रुपैँया ऋणमा परेपछि जुवाको पैसा तिन पनि समस्या भयो । जुवाडे साहूहरूले यिनलाई नालीमा टाउको गाड्नेसम्मको धम्की पनि दिए । सानो आशा राखेर यिनी पाटनका साहू धनसुन्दर साल्मी कहाँ गई आफ्नो दुःख बिसाउँदा सानैदेखि चिनेको मानिस भएकाले धनसुन्दरले यिनलाई एघार सय ऋण दिएका थिए । जुवाडे साहूहरूको पैसा तिरेर ज्यान त बचाए तर घरायसी समस्या ज्यूँकात्यूँ रहेपछि यिनी तराईमा गई हात्ती पक्रिने, बेचने र पैसा कमाउने सुरमा तराईतर्फ लागे तर त्यो काम पनि जङ्गबहादुरले गर्न सकेनन् । यिनी त्यतैबाट बनारसतर्फ लागे । एक वर्षसम्म भौँतारिँदा पनि केही काम नपाएपछि यिनी १८९६ मा रित्तो हात काठमाडौँ फर्किएका थिए । यिनी काठमाडौँ आउँदा यिनकी पत्नी प्रसादलक्ष्मी गरिबीका कारण स्याहार नपाएर मरिसकेकी थिइन् । दूधे बालकको हेरचाह पनि हुन्छ भन्ने आशामा यिनी आफ्नै साली सिद्धिगजेन्द्रलक्ष्मीलाई माग्न भनी ससुराली जाँदा गरिबीसँग जोडेर ससुरा प्रसादसिंहले गालीगलौज गर्दा पनि यिनी निरीह बनी फर्केका थिए । १९९७ मा यिनले बडा कप्तान सनकसिंह टन्डनकी बहिनी नन्दकुमारीसँग विवाह गरेका थिए । नन्दकुमारीले प्रशस्त दाइजो ल्याएकी थिइन् । त्यही दाइजोबाट साहू धनसुन्दरको ऋण तिरेर घरायसी समस्यालाई पनि टार्दै गए । नन्दकुमारीसँगको वैवाहिक जीवनपछि यिनलाई एकपछि अर्को सफलता मिल्दै जाँदा यिनी तोपखानाको कप्तान, युवराज सुरेन्द्रको अङ्गरक्षक, राजा राजेन्द्रको अङ्गरक्षक हुँदै आफ्नै बल र सामथ्र्यबाट प्रम तथा श्री ३ बनेका थिए ।

जङ्गबहादुरले आफ्नो शासनकालमा अनेकौँ सामाजिक सुधार र सार्वजनिक हितको काम गरेका थिए । डोटी–काठमाडौँ–मेची सम्मको पूर्वपश्चिम बाटो निर्माण र मर्मतको काम उल्लेखनीय रूपमा गरी सामाजिक सुरक्षाको व्यवस्था मिलाउने काम जङ्गबहादुरबाट भएको थियो । उक्त बाटोमा हुने लुटपाट र आतङ्कको अन्त्यका निम्ति त्यहाँ भौतिक व्यवस्था मिलाउन तीन लाख रुपैँया निकासा गरेर सुरक्षाको प्रबन्ध गरिएको थियो । दैवीशक्तिमा विश्वास गर्ने सामाजिक परम्पराका विरुद्धमा वैज्ञानिक उपचार पद्धति खोज्ने काम जङ्गबहादुरकै पालामा शुरु भएको थियो । बिफर विरुद्धको खोप ‘टीका’ अभियान सञ्चालन गरेर उक्त अभियानलाई सफल पनि बनाएका थिए । अन्धविश्वासमा रुमलिएको तत्कालीन समाजमा बोक्सीप्रथाले जरो गाडेको थियो । प्र.म. जङ्गबहादुरले त्यस्तो घृणित र अमानवीय संस्कार हटाउन मुलुकभर बोक्सी प्रथाविरुद्ध ऐन जारी गरेका थिए ।

जङ्गबहादुर रिसाउँदा महादेवको रौद्र रूप देखाउँथे भने कसैबाट खुसी हुँदा बन्न पनि पछि पदैनथे । यिनी दुःखमा परेका मानिसहरूलाई सहयोग गर्न पाउँदा आफ्नो सर्वस्व नै दिन पनि पछि पर्दैनथे भन्ने कुरा भारतीय विद्रोहीहरूलाई शरणदिएका घटनाले पुष्टि गर्दछ । त्यस्तै शिकारमा जाँदा गोकर्णमा एउटी विधवालाई गरेको सहयोगले उक्त कुरालाई पुष्टि गर्दछ । जङ्गबहादुरले न्यायनिसाफका लागि पनि कुटनीतिक निर्णयलिई समस्याको समाधान गर्दथे । यसरी निर्णय लिँदा कहिलेकाँही आफूबाट गल्ती भएमा उक्त गलत निर्णयको असर भोगिरहेको व्यक्तिलाई अभयदान दिने सम्मको काम जङ्गबहादुरले गर्दथे । जनताले न्याय सम्बन्धमा कुनै समस्या झेल्नु नपरोस् भनी कतिपय मुद्दा त यिनी प्रधानमन्त्री भएका समयमा आफैँले पनि हेरेका घटनाहरू इतिहासमा लेखिएका छन् ।

पुराना मिन्दरको जीर्णोद्धार, ठाउँठाउँको नक्सा बनाउने काम, नयाँ–नयाँ हातहतियार बनाउने काम, तराईका गाउँमा इनार खनाएर खानेपानीको व्यवस्था गर्ने काम पनि जङ्गबहादुरबाट समय–समयमा भएका थिए । यिनले रानीको सम्झनामा १९५१ मा डोटी जिल्लाको दि.सि.न.पा. ५ धामी गाउँमा मध्यकालीन समयमा बनेका ढुङ्गेधाराको शैलीमा रानीधारा निर्माण गरेका थिए भन्ने कुरा त्यहाँ स्थापित शिलालेखबाट स्पष्ट हुन्छ । हाल धारा जीर्ण भई मर्मतको पर्खाइमा रहेको देखिन्छ ।

बेलायत यात्राबाट फर्किएपछि आफ्नो देशको विकासलाई आमूल परिवर्तन गर्ने सोच बनाएका जङ्गबहादुरले नेपालमा अङ्ग्रेजी शिक्षाको जग बसाल्ने काम गरेका थिए । जसका निम्ति यिनले दरबार हाइस्कूल स्थापना गरी अङ्ग्रेजी शिक्षाको शुरुवात गरेका थिए । सती प्रथाका विरुद्धमा पनि यिनले कडा कदम चालेका थिए । सती प्रथा रोक्ने लक्षअनुरुप भाइहरू बम ब. बद्रीनरसिंह र कृ.ब. का पत्नीहरूलाई सती जान दिएनन् ।

वि.सं.१९१० को सती जान्याको भनी यसमा निकै बन्देज गरिएको थियो । तर यिनका पत्नी भने सती गएका थिए । १९१७ मा यिनले नेपालमा जनगणना गराएका थिए जुन नेपालको पहिलो र आधिकारिक जनगणना हो भनिएको छ । त्यस्तै १९२४ मा देशमा ठूलो अनिकाल प¥यो । त्यस अनिकाललाई टार्न यिनले धर्मभकारी राख्ने चलन चलाए । मुलुकीखाना, सराफखाना आदि आर्थिक काम–कारोबार हेर्ने नयाँ अड्डाहरू पनि स्थापना गरेका थिए । कौसितोषाखाना, कमान्डरी किताब खाना आदि स्थापना गरेर कर्मचारीको नाम–नामेसी दुरुस्त गर्ने काम शुरुवात भयो । जिल्ला जिल्लामा अड्डा अदालत स्थापना भए । प्रशासनिक व्यवस्थालाई पनि चुस्त दुरुस्त बनाएका थिए । यिनको शासन व्यवस्था एक हिसाबले सैनिक शासनमा आधारित रहेको हुनाले यिनले फौजी व्यवस्थालाई भने अत्यन्तै चुस्त दुरुस्त बनाएका थिए ।

बेलायत भ्रमणबाट प्रतिष्ठा, नेपाल र भोटको सीमाको आधुनिक सम्भावना र विवाद टुङ्ग्याए— अस्थिर राजनीतिको समाप्ति, भारत, प्राmन्स, बेलायतसँग सम्बन्ध विस्तार, बेलायतबाट फर्केर छापाखानाको स्थापना, फोटोग्राफीको शुरुआत, अंग्रेजी शिक्षाको शुरुआत, विदेशनीति सफल, १८५७ मा भारतमा भएको सिपाही विद्रोह शान्त पारे । यी आफै सु¥याइ र बलबुद्धिबाट ठूला दर्जामा पुगेका भीमसेन थापाका कारणले छिन्नभिन्न भएर जङ्गमाथि उक्ले, दुरदर्शी वि.बाट ..शिक्षक ल्याए । भीमसेन थापाका राम्रा नराम्रा विषय निहालिेर काम गरे । श्रीपेच लिएर छोडे । रोलक्रम बनाई आफूपछि भाइहरू अनिमात्र छोराहरू यी क्रमश भाइका छोराहरू बनाएर न्याय गरे । तर यिनलाई आलोचना गरिन्छ । राजाका सम्धि भएका र विजयराज पाँडेले सु..की दिएर मात्र बाँचेका थिए ।

प्रधानमन्त्री जङ्गबहादुरले प्राप्त गरेका विशेष उपाधिहरू ‘राणाजी’ र ‘श्री ३ महाराज’ नै हुन । यी दुई उपाधिका विषयमा सम्बन्धित शीर्षकमा चर्चा भइसकेको छ । ती दुई विशेष उपाधि बाहेक राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा जङ्गबहादुरलाई अनेकौँ सम्मानहरू प्राप्त भएका छन् । बेलायत यात्राका क्रममा यिनलाई अङ्ग्रेजहरूले ठाउँठाउँमा उन्नाईस तोपको सलामी दिएर राजकीय सम्मान गरेका घटनाहरू जङ्गबहादुरको जीवनीसम्बन्धी अनेकौँ पुस्तकहरूमा उल्लेख गरिएका छन् । भारतीय विद्रोही विरुद्ध अङ्ग्रेजलाई सहयोग गरेबापत सन् १८५८ जुनमा बेलायतकी महारानी भिक्टोरियाले जङ्गबहादुरलाई जीसीबी विभूषण प्रदान गरेकी थिइन् भने जङ्गबहादुरको योगदानको कदर गर्दै अङ्ग्रेजको कब्जामा परेको भूमि ‘बाँके, बर्दिया, कैलाली र कञ्चनपुर’ समेत नेपाललाई फिर्ता गरेका थिए । उक्त कार्यलाई पनि जङ्गबहादुरप्रतिको सम्मान मान्नुपर्दछ । त्यस्तै भारतीय विद्रोह दमनकै समयमा जनरल लर्ड क्यानिङले यिनलाई ‘सर्वोत्तम मित्र’ (वेस्ट फ्रेन्ड) उपाधिद्वारा सम्बोधन गरेका थिए । फ्रान्स यात्राका क्रममा पनि फ्रान्सका प्रेसिडेन्टले एक समारोह आयोजना गरी जङ्गबहादुरलाई एउटा तरबार र सुनको बाटुलो तक्मा उपहार दिएका थिए । त्यस्र्त बेलायतको सैन्य दलबाट यिनले ‘गार्ड अफ अनर’ उपाधि पनि प्राप्त गरेका थिए । १९०७ मा ब्रिटेनद्वारा ‘हिज एक्सेलेन्सी’ को सम्मान; १९१६ मा कम्पनी सरकारद्वारा ‘नाइट ग्य्रान्ड अप दी अर्डर अफ दी बाथ’ उपाधि र १९२९ मा चिनद्वारा थाङ् लिङ पिम्माको–काङ्–बाङ–स्याङ्को उच्चतम उपाधि प्राप्त गरेका थिए ।

जङ्गबहादुरको निधन पछि उनका सन्तानहरूले श्राद्ध गर्ने कुरा त नौलो भएन तर उनको मृत्युको लगभग १४ दशक बित्दासम्म नेपाल सरकारकै तर्फबाट यिनको वार्षिक रूपमा श्राद्ध गरी सम्मान गर्दै आइएको छ । त्यस्तै यिनको समाधिस्थल पत्थरघट्टमा ‘जङ्गबहादुर स्मारक स्थल’ निर्माण गरी यिनको स्मरण तथा सम्मान गरिएको छ ।

श्री ३ जङ्गबहादुर राणाबारे केही लुप्त तथ्यहरू पनि रहेका छन् । जङ्गबहादुर अत्यन्तै धार्मिक प्रवृत्तिका व्यक्तित्व थिए । उनी शास्त्रोक्त तीर्थयात्रा गर्न र दानव्रत गर्नमा विशेष रुचि राख्दथे । हिन्दू र बौद्ध तीर्थस्थलहरूको जीर्णोद्धार गराउने कार्य पनि उनीबाट भएको थियो । यिनी झारफुक गर्न जान्ने अर्थात् औषधीमूलो तयार गर्नमा पनि खप्पिस थिए । नाडी ज्ञानसमेत भएका जङ्गबहादुर आफन्त बिरामी भएको स्थानमा पुगी झारफुक र औषधीमुलो पनि गर्दथे । एकपटक फ्रान्समा तोरो हान्ने खेल खेल्दा धीरशमशेरलाई गोली लागेको बेला उक्त गोली निकाल्ने र उपचार गर्ने काम जङ्गबहादुर आफैँले गरेका थिए । आफ्ना रानी र छोराछोरी बिरामी परेमा वा घाउखटिरा आएमा यिनले आफैँ उपचार गर्थे । यिनले आफ्नै दरबारमा आयुर्वेदिक औषधालय सञ्चालन गर्नुका साथै आयुर्र्वेदका पुस्तक पनि लेखाएका थिए । आयुर्वेदिक औषधीका भक्त नै थिए ।

जङ्गबहादुर जुवा, मदिरा, अफिम र यौनका मामलामा अलि बढी नै उदार थिए भन्ने भनाइ पनि छ । केही नयाँ कुरा आयो कि जुवा खोलेर रमाइलो गर्ने, बेलुकाको समय भएपछि परिवारसँगै र भारदारसँग बसेर मदिरा सेवन गर्ने, राम्रा तरुनी केटीहरू देख्यो भने यौन कार्यमा उत्साहित हुने यिनको व्यक्तित्वका कमजोरी पक्ष थिए भने यिनी अफिमका त पारखी नै थिए रे । यिनी अफिम र मदिरा बेलायतबाट झिाकाउँथे भन्ने भनाइ छ । यिनले आफ्ना रानीहरूलाई बेस्सरी कुट्थे भन्ने भनाइ पनि छ ।

प्रधानमन्त्री जङ्गबहादुर राणाको मृत्यु सम्बन्धमा अनेकौँ भनाइहरू प्रचलित छन् । ती भनाइहरूले जङ्गबहादुरको मृत्यु कसरी भएको थियो भन्ने विषयमा झन धेरै जिज्ञासाहरू उत्पन्न गराउँछ । कसैले हत्या, कसैले जङ्गली जनावरको आक्रमण, कसैले स्वाभाविक मृत्यु भन्ने गरेका छन् ।

वि.संं १९३२ मै बेलायती युवराज नेपालमा शिकार खेल्न आउँदा उनीसँगै एक डाक्टर पनि आएका थिए । तिनले जङ्गबहादुरको स्वास्थ्य परीक्षण गर्दा जङ्गबहादुरको मुटुमा बोसो जम्न थालेको हुनाले मृत्यु नजिकै आएको घोषणा गरेका थिए । १९३२ पछिका दिनमा जङ्गबहादुरका जीवनमा कुनै न कुनै दुःखद घटनाहरू घटिरहेका थिए । लखन थापाको विद्रोह, जङ्गको मनपरेको हात्ती जङ्गप्रसादको मृत्यु, छोराहरू बबरजङ्ग र नरजङ्गको मृत्यु आदि कारणले जङ्गबहादुर तनावमा थिए । त्यही तनाव कम गर्न यिनी राजा सुरेन्द्र्रसँग बिहाबारी भएर १९३३ मङ्सिरमा शिकार खेल्न तराईतर्फ प्रस्थान गरेका थिए । तराईमा शिकार खेल्ने क्रममा यिनी बाराको सिमरौनगढको जङ्गलमा पुगी शिकार खेल्दै थिए । त्यहीँ नै यिनी बिरामी भएपछि हताहतार बाग्मती नदीका किनार पत्थरघट्टमा पु¥याइएको थियो । ५९ वर्षको उमेरमा १९३३ फागनु १६ गोविन्द द्वादशीका दिन त्यहीँ नै यिनको मृत्य भएपछि काठमाडौँमा खबर गरिएको थियो । छोराहरू पत्थरघट्टा नपुगुन्जेलसम्म यिनको मृत शरीरलाई सुरक्षित साथ राखी छोरा तथा श्रीमतीहरू पुगेपछि मात्र तीन दिनपछि अन्तिम संस्कार गरिदिएको थियोे । जङ्गबहादुर सती प्रथाका विरोधी थिए । तर यिनका तीनवटी रानीहरू— मैयाँ, मिश्री र पुतली यिनीसँगै सती गएका थिए ।

जङ्गबहादुरको मृत्यु सम्बन्धी समाचार सन् १८७८ मा फ्रान्सको गासाँ द तासीको लालाङएला लितेरात्यूर हिन्दूस्तानी अँ १८७० रेभ्यु आनुएल ? प्यारिस १८७८ नामक कृतिको पृ.९३–९४ मा पनि बडो प्रशंसापूर्वक ढङ्गबाट प्रकाशित गरिएको थियो ।

जङ्गबहादुरले निर्माण गरेका केही महलहरू

१.अलौ पर्वपछि प्रधानमन्त्रीमात्र नभएर देशकै सर्वेसर्वा भएका प्रधानमन्त्री जङ्गबहादुर राणाले वास्तुकलाविद ‘रनसुर विस्ट’ को डिजाइन अनुसार थापाथली दरबार बनाउन लगाए । १९३३ मा जङ्गबहादुरको मृत्युपछि यो दरबारमा यिनकी रानी, महारानी र छोराछोरीहरू बसे भने शमशेर खलकको विद्रोहपछि यो दरबार देश शमशेरको कब्जा आयो । त्यसपछि सत्तामा आएका चन्द्र शमशेर यसका अधिपति भए । १९६६।६७ तिर यिनले उक्त दरबार तोडफोड गरी इञ्जिनयिर द्वय कुमानरनरसिंह राणा र किशोरनरसिंह राणाको डिजाइनमा अर्कै महल तयार गराए ।

२.जङ्गबहादुर राणाले रनसुर विस्टद्वारा नै थापाथलीमा अर्को दरबार निर्माण गराए । तर यस दरबारमा यिनी बसेनन् । १९११ मा यिनले यो दरबार छोरा जगतजङ्ग र बुहारी टीकाराज्यलक्ष्मी राणालाई दिए । जगतजङ्ग मनहरा दरबारमा सरेपछि जङ्गबहादुरले यो दरबार आफ्ना नाति जुद्धप्रतापजङ्ग ‘नातिजर्नेल’ लाई दिएका थिए । चन्द्रशमशेरले यो दरबार हात पारेपछि यिनले उक्त दरबार आफ्ना छोरो सिंहशमशेरलाई दिएर दरबारको नाम पनि सिंह महल राखियो ।

३.वि.संं. १९०७ को बेलायत यात्रामा जङ्गबहादुरले बेलायतमा औषधोपचार र डाक्टर एवम् नर्सहरूको जुन भूमिका देखे त्यसैबाट प्रभावित भएर वास्तुविद रनसुर विष्टलाई वैद्यखाना भवनको निर्माण गर्न लगाएका विष्टलाई वैद्यखाना भवनको निर्माण गर्न लगाएका थिए । त्यहाँबाट राजा र प्रजा सबैलाई निःशुल्क औषधि वितरणको व्यवस्था गरियो ।

४.गोलबैठक घरको निर्माण— बेलायतबाट फर्किएपछि थापाथली कै जङ्गबहादुरले गोलबैठक घरको निर्माण तत्कालीन समयका चल्तीका वास्तुकलाविद् रनसुर विष्टमार्फत गराएका थिए । उक्त गोल बैठक घरमा महत्वपूर्ण छलफलका लागि यिनले बैठक डाक्ने गरेका थिए । तर १९९० को महाभूकम्पमा परेर गोलबैठक घर ध्वस्त भएको थियो ।

स्रोत  राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू, पृ.२१, २३, २६, २९, ३०÷नयराज पन्तको दृष्टिमा श्री ३ जङ्गबहादुर राणा, डा.महेशराज पन्त, २०७०÷जन्मकुण्डलीको फोटोकपी÷राणा शासनको वृत्तान्त, पृ.१–१०३,सन् २००४, प्रमोदशमशेर राणा÷जङ्गबहादुर कुँवर जीवनवृत्त, २०६९, बुद्धिलाल भण्डारी÷राणा प्रधानमन्त्रीहरूको जीवनी, पृ.१–७६,२०७३, प्रकाशएराज÷नेपालको इतिहासमा जङ्गबहादुर, २०४८, त्रिरत्न मानन्धर÷दोभान ऐतिहासिक पत्रिका, वर्ष ३, अङ्क १, २०५९÷चन्द्रशमशेरका टिपोटहरू, पृ.१–३८, २०५९÷चन्द्रशमशेरका टिपोटहरू, पृ.१–३८,२०७१, केशव चौलागाईं÷जङ्गबहादुर बेलायत यात्रा, २०६८, कमल दीक्षित÷राणा शासनको रोल व्यवस्था र धर्मपत्रहरू, २०५५, चित्तरञ्जन नेपाली÷जङ्गगीता, २०४०, कमल दीक्षित÷मधुपर्क ४०२, पृ.३९÷नेपालको ऐतिहासिक रुपरेखा, २०३३÷नेपालको इतिहासका केही अपुष्ट पक्षहरू÷प्राने ८९, पृ.१०, ज्ञानमणि नेपाल÷प्राने १५५, पृ.२७, डा.राजाराम सुवेदी÷सिनास जर्नल ८–२, पृ.१७५–१८७, ज्ञानमणि नेपाल÷कुँवर राणाजीहरूको बृहत्त वंशावली, पृ.२२–३०÷नेपाल निरुक्त, पृ.२३०÷कुँवर राणाजीहरूको बृहत वंशावली पृ.३, २०५६÷जङ्गबहादुर कुँवर जीवनवृत्त, पृ.११२, बुद्धिलाल भण्डारी÷पूर्णिमा ८७, पृ.१ र २, नयराज पन्त र देवीप्रसाद भण्डारी÷जन्मकुण्डलीको फोटोकपी÷राणा प्र.म.हरूको जीवनी, पृ.१।

 ।

जङ्गबहादुरका रानी महारानीहरू

गङ्गा महारानी

यिनी श्री ३ जङ्गबहादुरकी पत्नी हुन् । यिनी जङ्गकी विवाहिता भएकीले महारानी पदवी पाएकी थिइन् । यिनी कटकका महाराजाकी छोरी थिइन् । यिनको मृत्युसन् १८६४ मा भएको थियो ।

स्रोत ः जङ्गगीता, पृ.१४०, कमलदीक्षित÷राणा प्र.म.हरूको जीवनी, पृ.५७, प्रकाशए.राज ।

जीनारानी

श्री ३ जङ्गबहादुरका रानीहरूमध्ये जीनारानी पनि एक हुन् । यिनको जन्म १९०० असार २८ गते र निधन १९८० मा भएको थियो ।

स्रोत ः राणा प्र.म.हरूको जीवनी, पृ.५८, प्रकाश ए.राज ।

 नन्दकुमारी

नन्दकुमारी श्री ३ जङ्गबहादुरकी रानी हुन् । यिनी काजी सनकसिंह थापाकी बहिनी हुन् । यिनको विवाह १८९६ मङ्सिरमा जङ्गबहादुरसँग भई दुई छोरा जगतजङ्ग र जितजङ्ग तथा दुई तथा दुई छोरी वदनकुमारी र ताराकुमारी जन्मिएका थिए । यिनलाई विवाह गर्नुअघि जङ्गको आर्थिक अवस्था अत्यन्तै दयनीय थियो । विवाहमा यिनले ल्याएको दाइजोबाट जङ्गले आफ्नो ऋण घटाएर व्यवहारलाई सहज बनाएका थिए । तसर्थ यिनलाई जङ्गको भाग्योदया पनि भनिन्छ । यिनकी छोरी ताराकुमारीको विवाह युवराज त्रैलोक्यसँग भएको थियो ।

पृथ्वीवीरविक्रमको जन्म ललितराज्यलक्ष्मी (हिरण्यगर्भकुमारीकी छोरी) बाट भएको भनिएको छ ।

स्रोत ः राणा प्र.म.हरूको जीवनी, पृ.५, पृ.५६, प्रकाश ए.राज. ।

नौली महारानी

नौली महारानी श्री ३ जङ्गबहादुरकी रानी हुन् । यिनी चौतरिया वीरबहादुर शाहकी छोरी तथा जङ्गपत्नी महारानी हिरण्यगर्भकुमारी (मैैयाँ महारानी) की भदैनी हुन् । यिनी ‘यज्ञकुमारी ठकुर्नी’ को नामले पनि चिनिन्थिन् ।

स्रोत ः राणा प्र.म.हरूको जीवनी, पृ.५७, प्रकाशए.राज ।

पुतली महारानी

पुतली श्री ३ जङ्गकी महारानी हुन् । जङ्गबहादुरले यिनलाई महारानीको दर्जा दिएका थिए । शुरुमा पुतली राजदरबारकी सुसारे थिइन् । यिनै पुतलीबाट जङ्गबहादुरले दरबारभित्रको धेरै कुरा थाहा पाउँदथे । बबरजङ्ग पुतलीकै छोरा थिए भने भतिजा वीरशमशेरलाई यिनैले हुर्काएकी थिइन् । श्री ३ जङ्गको निधनसँगै यिनी जङ्गका खराउ बोकेर सती गएकी थिइन् । यिनले जङ्गबहादुरको स्वास्थ्यप्रति असाध्यै ध्यान दिने र मालिस गर्दथिन् भन्ने भनाइ छ ।

स्रोत ः राणा प्र.म.हरूको जीवनी, पृ.५६, प्रकाश ए.राज, पृ.४८ ।

प्रसादलक्ष्मी

प्रसादलक्ष्मी काजी प्रसादसिंह बस्नेतकी छोरी हुन् । यिनको विवाह १८८५ वैशाखमा जङ्गबहादुर कुँवरसँग भएको थियो । उनै जङ्गबहादुर कुँवर पछि श्री ३ जङ्गबहादुर राणा बनेका थिए । प्रसादलक्ष्मीका भीमजङ्ग नामक छोरा थिए । जसलाई जङ्गबहादुरले कुटेर मारेको कुरा इतिहासमा उल्लेख छ ।

स्रोत ः राणा प्र.म. हरूको जीवनी, पृ.५६, प्रकाश ए.राज ।

मिश्री महारानी

मिश्री जङ्गबहादुरकी महारानी हुन् । यिनले जङ्गबहादुरबाट महारानी पदवी पाएकी थिइन् । यिनले जङ्गबहादुरलाई तमाखु भरेर तयार गरिदिन्थिन् भन्ने कुरा मैयाँ महारानीले जङ्गबहादुरको निधन हुने बेलामा धीरशमशेरसँग भनेको कुराबाटै थाहा पाइन्छ भनी बालकृष्णसमले लेखेका छन् । १९३३ मा जङ्गबहादुरको निधन भएपछि यिनी जङ्गको कपडा बोकेर सती गएकी थिइन् ।

स्रोत ः राणा प्र.म.हरूको जीवनी, पृ.४८, ५७, प्रकाश ए.राज. ।

विष्णुकुमारी (ठकुर्नी)

श्री ३ जङ्गकी रानी विष्णुकुमारी चौतरिया रणशेर शाहकी छोरी हुन् । पद्मजङ्ग यिनैका छोरा थिए । यिनै पद्मजङ्गले १९४२ पर्वपछि निर्वासित भई इलाहावादमा बस्दा जङ्गबहादुरको जीवनी लेखेका थिए ।

स्रोत ः राणा प्र.म.हरूको जीवनी, पृ.५७, प्रकाश ए.राज ।

शुभकुमारी

शुभकुमारी श्री ३ जङ्गकी रानी हुन् । यिनले बाग्मती थापाथलीमा श्रीकृष्णको गोपालमन्दिर बनाउन लगाएकी थिइन् । यी देवताको लागि गूठीको समेत व्यवस्था गरिएको कुरा १९४० तिर त्यहाँ प्राप्त अभिलेखमा उल्ल्ेख भएको छ ।

स्रोत ः काठ. उप.....सूची, आ १, पृ.८९, ने.सं.सं ।

सिद्धिगजेन्द्रराज्यलक्ष्मी

प्रसादसिंह बस्नेतकी छोरी सिद्धिगजेन्द्रराज्यलक्ष्मी श्री ३ जङ्गकी साली थिइन् । आफ्नी जेठी पत्नी प्रसादलक्ष्मीको निधन भएपछि जङ्गले यिनीसँग विवाह गर्न खोज्दा ससुरा प्रसादसिंहले जङ्गलाई अपमान गरी पठाएका थिए । सिद्धिको विवाह अर्कै मानिससँग भएको थियो । जङ्गबहादुर शक्तिमा आएपछि विवाहिता साली सिद्धिगजेन्द्रलक्ष्मीलाई जबरजस्ती भित्र्याएर काजी प्रसादसिंह बस्नेतले लगाएको वचनको बदला लिएका थिए । सिद्धिगजेन्द्रलक्ष्मीका पहिलो पतिलाई जङ्गबहादुरले जारी पनि तिरेका थिए भनिएको छ । जङ्गबहादुर र सिद्धिगजेन्द्रराज्यलक्ष्मीबाट एक छोरी चिरबिरे मैयाँ (खड्गकुमारी) र छोरा रणवीरजङ्ग (गोरे जर्नेल) जन्मेका थिए । छोरा रणवीरजङ्ग जङ्गबहादुरको प्रधानमन्त्रीको रोलक्रममा दशौं स्थानमा परेका थिए ।

स्रोत ः राणा प्र.म.हरूको जीवनी, पृ.३०, ५७, प्रकाश ए.राज÷जङ्गबहादुर कुँवरः जीवनवृत्त, पृ.३१, बुद्धिलाल भण्डारी ।

हिरण्यगर्भकुमारी

हिरण्यगर्भकुमारी जहाँनिया राणा शासनका संस्थापक जङ्गबहादुर राणाकी बडामहारानी हुन् । १९११ मा यिनको जङ्गबहादुरसँग विवाह भएको थियो । यिनी राजा सुरेन्द्र शाहकी आफन्त थिइन् भने १९०३ मा कोतपर्वमा हत्या गरिएका प्रधानमन्त्री फत्येजङ्ग शाहकी सहोदर बहिनी थिइन् । १९३३ मा जङ्गबहादुर राणाको निधन हुँदा यिनी आफ्ना दुई सौतासहित पत्थरघाटको बागमतीको किनारमा सती गएकी थिइन् ।

एउटा सामान्य परिवारको मान्छेको चरम महŒवाकाङ्क्षा र अदम्य दुःसाहसका कारणले देशकै प्रधानमन्त्री र श्री ३ महाराज बनेर देश र देशवासीमाथि जहानियाँ शासन लाद्ने व्यक्तिको शासन समयमा उनको बडामहारानीको भूमिका केकस्तो थियो भनेर इतिहासका घटनाक्रमहरूले लिपिबद्ध रूपमा केही नभने तापनि पछिल्लो समयमा फेला परेको सुरेन्द्र शाहले हिरण्यगर्भकुमारीको नाममा गरिदिएको लालमोहरले धेरै कुरा प्रष्ट पारेको छ । नेपालको प्रशासनिक मामलामा बेलाखतमा सम्धिनीसित राय सल्लाह लिने कार्य गर्नेछु भनेर राजा सुरेन्द्रले गरिदिएको यी लालमोहरले तत्कालीन समयमा नेपालको राजनीतिमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा हिरण्यगर्भकुमारीको संलग्नता थियो भन्न सकिन्छ । मैयाँ महारानी पनि भनिने यिनका दुई ओटी छोरीहरू ललितराज्यलक्ष्मी र दीपकुमारी (बाघकी कान्छी मैयाँ) थिए । छोरी ललितराज्यलक्ष्मीको विवाह युवराज त्रैलोक्यसँग भई पृथ्वीवीरविक्रम शाह जन्मे जो पछि श्री ५ भएका थिए ।

स्रोत ः नेपाली पत्रिका २२७, पृ.२५÷राणा प्र.म.हरूको जीवनी, पृ.५२, ५७, प्रकाश ए.राज.।

जङ्गबहादुरका रानीहरू नै कति थिए भन्ने यकिन नभएका अवस्थामा यिनका सन्तान सन्तान खोजी गर्न सकिने त कुरै भएन । पुरुषोत्तम शमशेरको भनाइमा जङ्गका १४ छोरा र १२ छोरी थिए भनी उल्लेख छ । तापनि इतिहासकारहरूका अनुसार यिनका सन्तानमध्ये १.भीमजङ्ग २. जगतजङ्ग (१९०४–१९४२), ३.जितजङ्ग (१९०६–१९५०), ४.पद्मजङ्ग (१९१४–१९६३), ५. रणावीरजङ्ग (१९१३–), ६.बबरजङ्ग (....–१९३३), ७. नरजङ्गबहादुर (१९१४–१९३३), ८.हकजङ्ग (१९२१–१९५६), ९युद्धजङ्ग (१९२१–?) १०. जडम्बरजङ्ग (१९२४—?), ११. ललितजङ्ग (१९३१—?), छोराहरूको नामनामेसी पाइएको छ ।

 


Comments

Popular posts from this blog

Bharat Raj Panta साहित्यकार भरतराज पन्त (ठाकुरदत्त कैकयीनन्दन)

Surendra Nakarmi नाटककार सुरेन्द्र नकर्मी

Sahityakar Ismali सहित्यकार इस्माली (महेश पौडेल, महेश्वरप्रसाद उपाध्याय)