रिपोर्ताज साहित्यको नयाँ विधाका रूपमा विश्वसाहित्यमा देखापरेको छ । यसलाई साहित्यको कान्छो विधाका रूपमा मान्ने गरिन्छ । साहित्य र पत्रकारिताको अन्तर्घुलनबाट यसको जन्म भएको मानिन्छ । साहित्य संवेगको विषय हो र पत्रकारिता सूचनाको विषय हो । संवेगात्मक प्रस्तुतिले पाठक वा श्रोताको मनलाई आकर्षित गर्ने काम गर्दछ भने सूचनात्मक सम्प्रेषणले पाठकको ज्ञानमा अभिवृद्धि गराउने काम गर्दछ । लेखकीय निजात्मकता, सूचनाको आख्यानीकरण र पत्रकारितामूलक प्रस्तुति नै रिपोर्ताजको प्रमुख चिनारी हो । पढ्दा ज्ञान र मनोरञ्जन एकै साथ प्राप्त हुने हुनाले यसको फरक मिठास नेपाली साहित्यका पाठकहरूका बिचमा पनि प्राप्त हुन थालेको छ । अहिले रिपोर्ताजलाई कक्षा ११÷१२ को नेपाली साठ्यसामग्रीका रूपमा पनि समावेश गरिएको छ । यस कारण पनि नेपाली विषयको अध्ययन तथा अध्यापन कार्यमा संलग्न सम्बन्धित सबैका लागि यसको सैद्धान्तिक तथा व्यावहारिक ज्ञान आवश्यक हुने गर्दछ भने अन्य स्रष्टा र द्रष्टाहरूका लागि पनि यो जिज्ञासाको विषय हुन सक्दछ ।
नेपाली साहित्यका क्षेत्रमा रिपोर्ताज नितान्त नयाँ विधाका रूपमा देखापरेको छ । विश्वसाहित्यमा देखापरेको झन्डै आठ दशकपछि रिपोर्ताजले पहिलो पटक नेपाली पाठ्यक्रम र पाठ्यपुस्तकमा प्रवेश पाएको छ । साहित्य र पत्रकारिता दुवै क्षेत्रमा कार्यरत स्रष्टा पत्रकारहरूका रिपोर्टमुखी लेखनमा थोरै थोरै मात्रामा कलात्मक लेखनले प्रवेश पाएको भेटिए पनि रिपोर्ताज नै भनेर लेखिएका रचनाहरू नेपाली साहित्यमा त्यत्ति पाइँदैनन् । अहिले कक्षा ११ र १२ को नेपाली पाठ्यपुस्तकमा रिपोर्ताजले स्थान पाएपछि यसप्रति पनि स्रष्टाहरूको निकै चासो बढेको देखिन्छ । अब भने यसले पनि साहित्य सिर्जनाकै एउटा विधाका रूपमा विकसित हुन सक्ने सम्भावना देखिएको छ ।
यसरी एउटा सफल रिपोर्ताजका लागि प्रतिवेदनको सूचना टिपोट, कथाको कलात्मक घटनाविन्यास र निबन्धको निजात्मक दृष्टिकोणको स्वाभाविक अन्तर्घुलन हुनु आवश्यक मानिन्छ । यसमा यथार्थ घटनाको रिपोर्टिङ मात्र पनि हुनु हुँदैन, काल्पनिक आख्यानको रोचक विस्तार मात्र पनि हुनु हुँदैन र एउटा विषयमाथिको निबन्धात्मक प्रस्तुतीकरण मात्र पनि हुनु हुँदैन । यी तीनओटै कुरा अन्तःसम्बन्धित भएर आए भने त्यो सुन्दर र सशक्त रिपोर्ताज बन्न सक्छ ।
यी कुराहरू सिकारु चरणका रिपोर्ताज लेखक वा विद्यालय एवम् विश्वविद्यालय तहमा निर्देशित रिपोर्ताज लेख्नेहरूका लागि उपयोगी हुन्छन् । सिद्धहस्त स्रष्टाले त एकै पटकमा वा एकै बसाइमा एउटा रिपोर्ताज लेख्न सक्छ तर स्रष्टा जत्ति नै प्रतिभाशाली भए पनि रिपोर्ताज लेख्नका लागि चाहिँ उसले घटना वा विषयको स्थलगत भ्रमण, अध्ययन, गम्भीर चिन्तन, तार्किक विश्लेषण र तदनुकूल आख्यानीकरण गरेकै हुनुपर्छ । अन्य विधामा जस्तो एउटा कोठामा बसेर गरिने कल्पनाले चाहिँ रिपोर्ताज लेखन सम्भव छैन । यति हुँदाहुँदै पनि स्रष्टाको योग्यता, क्षमता, तर्कशक्ति, गम्भीर दृष्टि र कलात्मकताका कारण रिपोर्ताजको बनोट र बुनोटमा चाहिँ प्रभाव पर्ने देखिन्छ ।
स्रोत : डा देवी नेपालकाे लेखबाट साभार गरिएको
Comments
Post a Comment